तिलोत्तमा नगरपालिकामा कांग्रेस विजयी

डिसी नेपाल
१३ जेठ २०७९ ६:४०

बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई झिनो मतले पराजित गर्दै खाण विजयी भएका हुन्।

उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका थिए। ७६५ मतको अन्तरले खाण विजयी भएका हुन्। उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरदेवी चौधरी विजयी भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई ११ हजार मतान्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन्।

कांग्रेसका रुपन्देही जिल्ला सभापति समेत रहेका गृहमन्त्री बालकृष्ण खांणका सहोदर भाई रामकृष्ण खांण २०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग दुई हजार सातसय मतान्तरले पराजित भएका थिए । ८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो।

तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो भने एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख सहित १३ वडाअध्यक्ष जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *