विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण

डिसी नेपाल
२१ कार्तिक २०७९ २२:१३
28
Shares

काठमाडौं । निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल विरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सिंहलाई ऊर्जामन्त्रीले गरेका जलविद्युत् क्षेत्रका गलत क्रियाकलापहरू भनी १० बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । उक्त दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ ।

उम्मेदवार रिजाललाई स्पष्टीकरण

निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको सम्बन्धमा स्पष्टीकरण सोधेको छ । आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयमा रिजालले कार्कीलाई धम्की दिएको विषयमा आयोगमा लिखित उजुरी आएको थियो ।

प्रचारप्रसारमा टोपी प्रयोगका सम्बन्धमा स्पष्टीकरण

त्यसैगरी आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडाको सङ्केत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो । यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।

प्रचारप्रसारमा बालबालिका प्रयोगबारे स्पष्टीकरण

आयोगले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)का तर्फबाट प्रदेशसभा सदस्यका दाङ क्षेत्र नं ३ (२) का उम्मेदवार हुकुमबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्यका झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरणपत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिह्न अङ्कित पम्प्लेट लिई वितरण गर्न हिँडिरहेको देखिने सामग्री सङ्लग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटोसमेतको सामग्री आयोगमा प्राप्त भएको तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्यदृश्य सामग्री सङ्लग्न गरी आयोगमा उजुरी प्राप्त भएको उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.