संसदमा ससुरा-बुहारीदेखि ज्वाँइ-ससुरासम्म

डिसी नेपाल
१० मंसिर २०७९ १४:०२

काठमाडौं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो निर्वाचनको चुनावी नतिजा अन्तिम चरणमा पुगेको छ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रममा निकै रोचक परिणामहरु पनि देखिएका छन् । २७ बर्षीय युवादेखि ८० बर्षी वृद्धसम्म सांसदहरु निर्वाचित भएका छन् ।

यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए ।

संसदमा अब रोचक देखिने आफ्नै ससुरा-बुहारीदेखि ज्वाँइ-ससुरासम्मको उपस्थिति हुने भएको छ ।

काठमाडौंस्थित डिल्ली बजार जेलमा फौजदारी अभियोगमा सजाय भोगिरहेका रेशम चौधरीका बुबा र श्रीमती नै सांसद बनेका छन् ।

रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर १ मा निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै ३० हजार ४०४ मतसहित निर्वाचित भएकी हुन् ।

रेशमको उम्मेदवारी खारेज हुने भएपछि नागरिक उन्मुक्ति पार्टीले मनोनयनकै क्रममा रेशमका बुबा लालविरलाई स्वतन्त्र उम्मेदवार बनाएको थियो । पछि उनैलाई समर्थन गर्यो ।

लालविरले पनि माओवादीका उमेरदवार सुरेश पन्थलाई पराजित गर्दै सांसदमा चुनिए ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट विजयी भएका छन् भने उनका ससुरा काँग्रेसका अर्जुननरसिंह केसी नुवाकोट २ बाट निर्वाचित भएका छन् ।

थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्। केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै अर्का ज्वाँई ससुराको जोडी हो, शरद सिंह भण्डारी र विराजभक्त श्रेष्ठ । श्रेष्ठ काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका छन् भने महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट भण्डारी विजयी भएका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *