भयावह बन्दै सवारी दुर्घटना!

डिसी नेपाल
१५ माघ २०७९ १९:३६

बेलबारी। हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ। साँघुरो राजमार्गमा सवारी साधनको चाप। साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी। जोखिमै जोखिमका बीचमा सवारी चालक गन्तव्य लिइरहेका छन्।

केही दिनअघि मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट १८ महिनाकी बालिका अननिया चौधरीको मृत्यु भयो। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सुन्दरहरैचा–१२ को भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६८२५ नंको टिपरले ठक्कर दिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो।

बालिका अननिया चौधरीले जस्तै धेरैले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ। प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क हेर्दा यस आर्थिक वर्षको छ महिनामा मात्र प्रदेशभर दुई सय पाँचजनाको सवारी दुर्घटनाकै कारण मृत्यु भइसकेको छ।

जसमा एक हजार सात सय ७४ दुर्घटना भएकामा चार सय १७ जना गम्भीर घाइते अवस्थामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

गत आव र यस आवको साउन महिनादेखि पुस मसान्तसम्मको अर्धवार्षिक सवारी दुर्घटना विश्लेषण गर्दा चालु आवमा सात दशमलव २६ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको र २० दशमलव २३ प्रतिशतले मृत्युदरमा कमी आएको कार्यालयले जनाएको छ। गत आवको साउनदेखि पुस मसान्तसम्ममा एक हजार नौ सय १३ सवारी दुर्घटना हुँदा दुई सय ५७ जनाको मृत्यु भएको थियो।

निरन्तर सवारी चालकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएकाले पनि दुर्घटनामा केही कमी आएको हुनसक्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

गत आव र यस आवकोे साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक जनचेतना कार्यक्रम सञ्चालनतर्फ ४३ दशमलव ४३ प्रतिशतले वृद्धि भएको र लाभान्वित सङ्ख्यातर्फ २३ दशमलव सात प्रतिशतले वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

साँघुरो सडकमा सवारी धेरै भएकाले पनि दुर्घटना न्यूनीकरणमा समस्या भएको पूर्वी नेपाल यातायात प्रालिका अध्यक्ष राजु श्रेष्ठले बताए। उनका अनुसार तराईका सडकमा बढ्दो सिटी सफारीको चापका कारण पनि ठूला गाडी कुदाउन समस्या भएको र दुर्घटनाको जोखिम बढेको छ।

तीव्र गतिमा आउने ठूला सवारीसाधनसँग साँघुरो सडकमा जोगिएर मोटरसाइकल कुदाउन निकै गाह्रो पर्ने गरेको मोरङ पथरी शनिश्चरेका प्रेम गुरुङ बताउँछन्। आफूलाई जस्तै अरू साना दुईपाङ्ग्रे सवारी चालकलाई यस्तै समस्या रहेको उनी बताउँछन्।

विगत १० वर्षदेखि हेर्ने हो भने गुणात्मकरूपले सवारी चाप बढिरहेको छ तर राजमार्गको चौडाइ बढ्न सकेको छैन, अझ बस्ती क्षेत्रतिर गएर हेर्दा बिस्कुन सुकाउनेदेखि बालबालिका खेल्ने ठाउँसम्म भएको छ सडक।

कालोपत्र भएको वर्ष बित्न नपाउँदै खाल्डैखाल्डा भएका सडकहरू पनि प्रशस्तै भेटिन्छन्। राजमार्गमा ठूला सवारीको आतङ्क बेग्लै छ, साना साधन कुदाउँदा जोगिनै हम्मेहम्मे पर्छ।

विगतको तुलनामा ठाउँठाउँमा प्रहरी चेक पोष्ट तथा सवारी साधन चेक जाँचका लागि कडाइपूर्वक सडकमा खटिएर रहेका टा«फिक प्रहरीको निगरानीले जोखिम न्यूनीकरण भने भएको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *