सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभामा सदस्य मनोनीत

डिसी नेपाल
२८ असोज २०८२ २१:२९
52
Shares

सुदूरपश्चिम। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठकले विभिन्न क्षेत्रका विज्ञहरूलाई विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आज काठमाडौंमा बसेको बैठकले उपकुलपतिमध्येबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तलाई विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

यसैगरी प्रा डा जयराज अवस्थी (दार्चुला), प्रा डा अम्मरराज जोशी (बझाङ), डा लवदेव अवस्थी (बैतडी), प्रा डा संगीता राजभण्डारी (काठमाडौ), डा डम्बरबहादुर पाल (दार्चुला) र सहप्राध्यापक अनुराधा रोकाया (कञ्चनपुर)लाई पनि विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गरिएको छ।

बैठकले विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको नियुक्तिको लागि सिफारिस गर्न प्रा डा जयराज अवस्थीको संयोजकत्वमा प्रा डा दीपक महरा र प्रा डा भारती जोशी सदस्य रहेको सिफारिस समिति गठन गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ को परिच्छेद ४ मा प्रदेश सरकारका मुख्यमन्त्री विश्वविद्यालय सभाको सदस्य रहने व्यवस्था छ। यस्तै, स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्येबाट एक जनालाई विश्वविद्यालय सभाको सदस्य मनोनीत गर्नुपर्ने व्यवस्था छ।

यसैगरी विज्ञान प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्ये विश्वविद्यालय सभा सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थासमेत ऐनमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.