छोरा भेट्ने रहर विमानस्थलमै अस्ताएपछि…
काठमाडौं । काठमाडौं सुकेधाराकी ५५ वर्षीया ठूली कान्छी तामाङका आँखामा अस्ट्रेलियामा रहेका छोरा राजुलाई अंकमाल गर्ने रहर थियो। श्रीमानको साथ लागेर सिड्नी उड्दाको उत्साह शुक्रबार बिहान सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दासम्म कायमै थियो।
तर, नियतिको खेल; विमानको पाङ्ग्राले अस्ट्रेलियाको भुइँ त छुवाए, तर ठूली कान्छीले छोराको दैलो टेक्न पाइनन्।
विमानस्थलमा ओर्लनासाथ उनी अचानक बेहोस भइन्। मेडिकल टोलीले सीपीआर दिएर उनलाई बचाउने अथक प्रयास गर्यो, तर उनका सासहरू त्यहीँ रोकिसकेका थिए। वागा वागामा आमाको प्रतीक्षा गरिरहेका छोरा राजुले जब प्रहरीको फोनबाट यो खबर पाए, उनी छाँगाबाट खसेझैँ भए।
अहिले यो शोकको घडीमा प्रवासी नेपालीहरू एकजुट भएका छन्। एनआरएनए अस्ट्रेलियाको अगुवाइमा चलाइएको ‘गो फन्ड मी’ मार्फत ४४४ जना मनकारीले १६ हजार डलरभन्दा बढी सहयोग जुटाएका छन्। आमालाई अस्ट्रेलियामा भेट्न नपाएका छोरा राजु, अब उनै आमाको पार्थिव शरीर बोकेर नेपाल फर्कने कानुनी प्रक्रियाको पर्खाइमा छन्।







डिसी नेपाल







Facebook Comment