स्वास्थ्य सम्बन्धी समस्या भएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धमा सुचना
रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी समस्या भएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।
१. कोरोना भाइरसको संक्रमण विस्तारसंगै यहां रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्नो स्वास्थ्यको बारेमा चासो राख्दै उल्लेखनीय संख्या टेलिफोन गर्ने गर्नुभएको छ । यसरी टेलिफोन गर्ने नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न साउदी अरबमा रहनुभएका नेपाली चिकित्सक डा. अनिरुद्र पाठकज्यूले हार्दिकतापूर्वक इच्छा देखाउनु भएको हुंदा डा. पाठकज्यूलाई निम्न अनुसार सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या सम्बन्धी परामर्श लिनुहुन अनुरोध छ ।
सम्पर्कः
डा. अनिरूद्र पाठक, जनरल फिजिसियन
ढाका मेडिकल सेन्टर, बथा, रियाद ।
टेलिफोन नम्वरः ०५४६३५६०२३
(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )
सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म
(आकस्मिक अवस्था आएमा अन्य समयमा पनि फोन गर्न सकिने तथा imo र WhatsApp मा लेखि पठाउन सकिनेछ )
अत्यन्त जरुरी सूचना
साउदीका बिभिन्न ठाउँमा २४ घण्टे कफ्र्यू
—————————-
साउदी सरकारले भर्खरै जारी गरेकाे सूचना अनुसार साउदी अरबमा फैलिएकाे कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यस्वरुप आज मिति २०७६।१२।२४ (अप्रिल ६, २०२०) साेमबारबाट लागू हुने गरी रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखाेबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यू अादेश जारी गरेको यहाँको गृह मन्त्रालयले जनाएको छ।
तसर्थ, सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना गर्नुहुन हार्दिक अनुरोध छ ।
सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किनुहुन समेत अनुरोध छ ।
———————-
नेपाली राजदूतावास
रियाद
२०७६।१२।२४
साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।
१. आज मिति २०७६।१२।२२ (अप्रिल ४, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २१७९ पुगेको छ । आज थप १४० जनामा संक्रमण भएको छ । राजधानी रियादमा मात्र आज ६६ जनामा संक्रमण भएको उल्लेख छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४२० जना निको भएका छन् । आज ४ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २९ पुगेको छ । एकजना नेपाली नागरिकमा यो रोगको संक्रमण देखिएको अनौपचारिक जानकारी प्राप्त भएको छ । सरकारी श्रोतबाट यसको पुष्ट्याँइ सहितको जानकारी आइसकेको छैन । संक्रमणको अनौपचारिक जानकारी प्राप्त भएका नेपालीसँग नेपाली राजदूतावास टेलिफोन सम्पर्कमा रहेको छ ।
२. कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले आज मिति २०७६।१२।२२ (अप्रिल ४, २०२०) शनिवारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्र (Kilo 14 South, Kilo 14 North, Al-Mahjar, Ghulail, Al-Qurayyat, Kilo 13 and Petromin) मा २४ घण्टे कर्फ्यू जारी गरेको यहाँको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नुहुन अनुरोध छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ ।
३. साउदी सरकारले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका विदेशी नागरिकरुको अकामा तीन महिनाका लागि स्वतः नवीकरण हुने यहाँको राहदानी निर्देशकको कार्यालयले जनाएको छ । मार्च १८, २०२० वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३०, २०२० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलव्ध हुने जनाइएको छ । यो व्यवस्थाले साउदी भित्र वा बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ ।अकमाको स्वतः नवीकरणको जानकारी टेलिफोनमा सन्देश पठाई गरिने समेत व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ ।
४. रियाद क्षेत्रको कर्फ्यूको समय यथावत दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म रहेको छ । यसको पूर्ण पालना गरौं । कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु सामाजिक संजालमा नराख्नुहुन पनि सबैमा पुनः अनुरोध छ ।
६. साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
७. कृपया सावधानी र सचेताका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजना वीच पुर्याउन एक अर्कालाई मद्दत गरौँ।
——————–
नेपाली राजदूतावास
रियाद
२०७६।१२।२२
कोरोना भाइरसका कारण विकसित परिस्थितिमा साउदी सरकारले भिषा सम्बन्धमा गरेका केही व्यवस्था र अन्य विषयमा नेपाली राजदूतावासको सूचना ।
१. साउदी अरबबाट बिदामा नेपाल गएका तर कोरोना भाइरसको कारण साउदी फर्किन नसकेका र साउदी अरेबियामा कुनै पनि प्रकारका भिषा (पारिवारिक, पर्यटक वा व्यावसायिक भिषा) मा रहेका र कोरोनाको कारण स्वदेश फर्किन नपाएकाहरुको हकमा साउदी सरकारले केहि निर्णयहरु गरेको छ :
क) साउदी स्वास्थ्य मंत्रालयले कोरोना भाइरस समाप्तिको घोषणा गरिसकेपछि साउदीबाट विदामा गएका सम्पूर्ण व्यक्तिहरुको (इकामा बहाल भए वा नभए) भिषा अवधि नवीकरण गर्ने ।
ख) पारिवारिक, पर्यटक वा व्यावसायिक भिषामा साउदी आएका तर कोरोना भाइरसको कारण भिषाको अवधि भित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएका व्यक्तिहरुको जरिवाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थप्ने । संक्रमणको अवधि थपिँदै जाने वा उडान नखुलेसम्म यो प्रकृया जारी रहने ।
ग) स्वास्थ्य मंत्रालयले कोरोना भाइरस पूर्ण रूपमा समाप्त भएको घोषणा गरेको ३० दिनसम्म यी प्रकृयाको समयावधि बहाल रहने छ ।
२. आज मिति २०७६।१२।१८ (मार्च ३१, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५६३ पुगेको छ । आज थप ११० जनामा संक्रमण भएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म १६५ जना उपचार पश्चात् निको भएका छन् र १० जनाको संक्रमणबाट मृत्यू भएको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा संक्रमण देखिएकाे छैन ।
३. गैर आवासीय नेपाली संघ (NRNA)साउदी अरब र साउदी अरबमा कृयाशील नेपाली संघसंस्था एवं व्यक्तित्वहरुले समेत कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा समय समयमा विभिन्न माध्यमबाट अनुरोध गर्दै आउनुभएको छ । यी अनुरोधहरुलाई समेत मनन गर्दै आफू बचौँ र अरूलाई पनि बचाऔंँ ।
४. नेपालमा भएका आफ्ना परिवारका सदस्यहरु, आफन्त, छरछिमेक र साथीभाइलाई पनि संक्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुहोस् । यहाँहरुको सन्देशले संक्रमण नियन्त्रणमा ठूलाे भुमिका खेल्दछ।
——————————————
नेपाली राजदूतावास
रियाद
२०७६।१२।१८
साउदी अरबमा जारी कर्फ्यू र जवाजातको अनुरोध सम्बन्धमा
नेपाली राजदूतावास रियादको सूचना ।
———————————–
१. साउदी सरकारी वकिल कार्यालयले एक सूचना जारी गर्दै साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको उल्लंघन गरेको भिडियोहरु फेसबुक वा सोसल मिडियामा पोष्ट गर्ने वा कर्फ्यू उल्लघंन गर्न कसैलाई प्रोत्साहित गर्ने जो कोहीलाई पनि Saudi Information Crime Prevention Law को धारा ६ बमोजिम तीसलाख जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने गरी मुद्दा चलाउन सक्ने जनाएको छ । तसर्थ, यस प्रकारका सजाय हुने कुनै पनि कार्यमा नलाग्नुहुन साउदी अरबमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा राजदूतावास अनुरोध गर्दछ ।
२. साउदी अरबको The Directorate General of Passport (Jawazat) ले गरी साउदी अरबमा रहेका Final Exit Visa वा Exit Visa र re-entry visa लागेका विदेशी नागरिकहरुलाई उक्त भीसाहरु भएमा अविलम्व रद्द (Cancel) गरी भीसा अवधि सकिएपछि लाग्न सक्ने जरिवानाबाट वच्न अनुरोध गरेको साउदी प्रेसले जनाएको छ । साउदी अरबले कोरोनाको संक्रमण रोक्ने सावधानी स्वरूप हाल अन्तराष्ट्रिय उडानहरु स्थगित गरेको सन्दर्भमा यो जानकारी सार्वजनिक भएको हो । तसर्थ, आफ्नो राहदानीमा उक्त प्रकारको कुनै छाप लागेको भएमा हेरी ढीला सुस्ती नगरी यहांको आन्तरिक मन्त्रालय (Ministry of Interior) को इलेक्ट्रोनिक सेवाको पोर्टल Absher वा Muqeem बाट यो सेवा लिनुहुन अनुरोध छ । कोही कसैलाई यो पोर्टलको प्रयोग गर्न कठीनाइ भएमा सुरक्षित हिसावले यसको ज्ञान भएका आफ्ना साथिभाईलाई अनुरोध गर्नुहुन एवं सो सम्भव नभएमा नेपाली राजदूतावासको हटलाइनको WhatsApp मा आफ्नो विवरण पठाउनुभएमा राजदूतावासले यसमा मद्दत गर्ने व्यहोरा समेत अनुरोध छ ।
३. रियाद, मक्का र मदिना क्षेत्रमा कर्फ्यूको समय ७ बजेबाट हुंदै आएकोमा अब दिनको ३ बजे देखि भोलिपल्ट ६ बजेसम्म हुने भएको छ ।
कोरोना भाइरसको संक्रमण साउदी अरबका नेपालीमा पुग्न नदिन निरन्तर सावधानी अपनाउनु हुन अनुरोध छ ।
—————————–
नेपाली राजदूतावास
रियाद ।
२०७६।१२।१२
साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू लगाएको सम्बन्धमा जरुरी सूचना ।
———————————–
१. साउदी अरबमा कोरोनाको संक्रमण हुनेको संख्या बढ्दै गएकोले सोको नियन्त्रणको सन्दर्भमा साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज आल साउदले साउदी अरबमा आज मार्च २३, २०२० को समय राती ०७ बजे देखि लागू हुनेगरी आगामी २१ दिन सम्म साँझ ०७ बजे देखि बिहान ०६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गर्न भएको छ । केहि अत्यावश्यक सेवा संचालन मात्र खुल्ने गरी लगाइएको यो कर्फ्युको पूर्ण पालना गर्न साउदी अरबमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नेपाली राजदूतावास अनुरोध गर्दछ ।
२. कोरोना संक्रमणको यो कठीन् परिस्थितिमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा रोगको संक्रमण रोक्न सम्बन्धी स्वास्थ्य सावधानी र साउदी सरकारको नियम कानुन र निर्देशन पालनाको सम्बन्धमा सचेतना विस्तार गर्न आफ्नो तर्फबाट सदाझैँ मद्दत गरिदिनहुन साउदी अरबमा कृयाशिल गैर आवासीय नेपाली संघ एवं सम्पूर्ण सामाजिक संघसंस्था तथा अनलाइन समाचार माध्यमहरुलाई नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
३. मार्च ०२, २०२० मा एक जनाबाट शुरु भएको भाइरसको संक्रमण तीन हप्ताको अवधिमा ५११ जनामा फैलिसकेको छ । आजसम्म नेपाली नागरिकहरुमा यो संक्रमण देखिएको छैन । यो संक्रमण नेपाली नागरिकहरुमा हुन नदिन आउँदा दिनहरुमा समेत अत्यन्त सचेत भई कोरोना संक्रमण हुन नदिने सावधानीहरु अपनाउनुहुन अनुरोध छ ।
तसर्थ, कर्फ्युको समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउने साथै राजदूतावासको निरन्तर सम्पर्कमा रहनुहुन सबैमा पुन: अनुरोध छ ।
———————————
नेपाली राजदूतावास
रियाद।
नेपाली कन्सुलेट जनरल, जेद्दाको अनुरोध
साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयको सूचना अनुसार आजका मितिसम्म ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र संक्रमितमध्ये ३ जना भाइरसमुक्त भएका छन् । साउदी सरकारले साउदी नागरिक र यहाँ रहेका विदेशी नागरिकहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिंदै कोरोना भाइरसको रोकथामको लागि उच्च सतर्कता अपनाएको र यसबाट प्रभावितहरुलाई सुविधासम्पन्न अस्पतालमा उपचार सहित आइसोलेसनमा राखेको बुझिएको छ ।
संक्रमण अरु फैलिनबाट रोक्नका लागि हिजो मार्च १५ बाट लागू हुने गरी दुई सातासम्म साउदी अरबमा सबै अन्तर्राष्ट्रिय उडानहरू स्थगन गरिएको छ।यहाँबाट विदामा गएका विदेशी कामदारहरु फर्कन नमिलेको अवस्थामा १५ दिन थप बिदा दिन सकिने साउदी सरकारले निर्णय गरेको बुझिएको छ ।अन्तर्राष्ट्रिय उडानहरू स्थगन गर्नुपूर्व मार्च १३ पछि साउदी अरेबिया प्रवेश गरेकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाएको छ। आजकै मितदेखि लागू हुनेगरी स्वास्थ्य, सुरक्षा र मिलिटरी, ईलेक्ट्रोनिक सेक्युरिटी सेन्टर तथा रिमोट लर्निङ्ग बाहेकका सम्पूर्ण सरकारी निकायहरूको कामकाज तत्कालको लागि स्थगन गर्दै कर्मचारीहरुलाई घरमा नै रहन आग्रह गरिएको छ । यसैगरी खाद्य स्टोर र फार्मेसी बाहेकका रेष्टुरेन्ट (डेलिभरीको मात्र व्यवस्था ), सपिङ्ग मल, बार्बर सप तथा बिउटी सलोनलाई समेत अनिश्चित समयका लागि बन्द गरिएको र पार्क, सामुद्रिक किनारा, रिसोर्ट, क्याम्प र जङ्गल पार्क घुमघाममा तत्काललाई रोक लगाइएको छ।
कोरोना भाइरसको रोकथामका लागि साउदी सरकारले अवलम्बन गरेका उच्च सावधानीका विधिहरू अपनाउन, अत्यावश्यक अवस्थामा वाहेक कसैसग भेटघाट नगर्न र भीडभाडमा नजान साउदी अरेबियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा यस कन्सुलेट हार्दिक अपिल गर्दछ। यहाँ रोजगारीमा रहनुहुने नेपाली नागिरकहरूले आफू कार्यरत कम्पनीको एच आर म्यानेजर ( Human Resource Manager) र पब्लिक रिलेसन अफिसर (PRO) को टेलिफोन नम्बर अनिवार्य रूपमा आफूसंग राख्नुहोला । कसैलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा अरेविक भाषामा कुराकानी गर्न सक्ने भएमा तुरुन्त साउदी सरकारले निर्धारण नं ९३७ मा सम्पर्क गर्नुहोला र अरेविक भाषामा कुराकानी गर्न नसक्ने भएमा कम्पनीको सम्बन्धित पब्लिक रिलेसन अफिसरलाई तुरुन्त जानकारी दिनुहोला ।साथै, यस कन्सुलेटले तल दिएका टेलिफोन नम्बरहरुलाई हट लाइनको रुपमा व्यवस्था गरेकोले आफूलाई अनुकुल हुने नम्बरमा तुरून्त खबर गर्नुहोला । विश्वव्यापी रुपमा फैलिएको यो महामारीबाट नेपाली नागरिकलाई सुरक्षित राख्न कन्सुलेटले लिएको/लिने निर्णयलाई सूचना प्रवाह गरी साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिक समक्ष पुर्याउन यहाँ क्रियाशील सबै संघ-संस्थाहरूलाई कन्सुलेट हार्दिक अनुरोध गर्दछ।
दूतावास प्रतिनिधि ०५५११४२३४५, ०५३०४५२४२५, ०५९०६६३६४६ (अरेविक भाषा जान्ने)
कूटनीतिक कर्मचारी ०५५८७८६३२७/०५५९६८०२५३
आभा खमिस तथा असिर प्रतिनिधि- 0536899578
जिजान प्रतिनिधि-0507085297
नेपाली कन्सुलेट जनरल
जेद्दा, साउदी अरब
२०७६/१२/३ (मार्च १६, २०२० )
————————————————————
साउदी अरबमा कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा थप जानकारी ।
१. कोरोना भाइरसबाट संक्रमितहरुको संख्या साउदी अरबमा पनि दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा साउदी सरकारले मार्च १५, २०२० देखि दुई हप्ताका लागि सम्पूर्ण हवाइ सेवा स्थगित गरेको जनाएको छ ।
२. साउदी सरकारको हवाइ सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरूका लागि २ हप्ताको विशेष विदा दिने निर्णय गरेको पनि साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।
तसर्थ, आगामी दुई हप्ताका लागि साउदीमा रहनुभएका नेपाली नागरिकहरू घर विदामा नेपाल जाने तथा घर विदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको व्यहोरा अनुरोध छ ।
३. साउदी सरकारले दुई हप्ताका लागि हवाइ सेवा बन्द गरेपछिको परिस्थितिलाई समेत विचार गरी यस राजदूतावासले प्रदान गर्दैआएका सेवाग्राहीको भिडभाडपूर्ण उपस्थिति हुने निम्न सेवाहरू हाल स्थगित गरिएको व्यहोरा समेत अनुरोध छ ।
क. घरेलु कामदारहरूका लागि जारी गरिने पुनः श्रम स्वीकृति सिफारिश (Worker Return Recommendation) । घर विदामा नेपालमा हुनुभएकाहरूले पनि यस अवधिमा आफ्ना कफिलहरूलाई सिफारिशका लागि राजदूतावासमा नपठाउनुहुन अनुरोध छ ।
ख. नेपाली राजदूतावास रियाद र राजदूतावासका दम्माम स्थित जन सम्पर्क अधिकारीबाट हुदै आएका वहिर्गमन (अकामा नभएका, अकमा नवीकरण नभएका, हुरूब तथा अभिलेखवद्द नभएकाहरूका अवेदनहरू राजदूतावासले संकलन गर्दै आएको) सम्बन्धी आवेदन संकलनका कार्यहरू ।
ग. साथै, नेपाल सरकारका सम्वद्द निकायहरूसंगको समन्वयमा परराष्ट्र मन्त्रालयको निर्देशन समेतमा यस राजदूतावासले निकाल्ने यस सम्बन्धी सामयिक सूचनाहरू राजदूतावासको वेभसाइट तथा फेसबुकमा हेर्नुहुन पनि अनुरोध छ ।
नेपाली राजदूतावास
रियाद ।
———————————————————————————————-
साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना
१. साउदी अरबको स्वास्थ्य मन्त्रालयले दिएको आज बिहान सम्मको जानकारी अनुसार साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको छ । संक्रमितहरुलाई विशेष उपचारमा राखिएको जनाइएको छ ।
२. कोरोना भाइरसको संक्रमणका विरामी धेरै देखापरेका कारण अधिकारीहरुबाट साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द गरिएको छ । उक्त क्षेत्रबाट बाहिर गएका बासिन्दालाई भने शहर भित्र आउन दिइएको छ । सो क्षेत्रमा सरकारी कार्यालय, निजी संस्थाहरु, यातायात तथा क्याटरिङ सेवा लगायतका सेवाहरु बन्द गरिएका छन् ।
अतः उक्त क्षेत्र र वरपर रहनुभएका नेपालीहरुले यस रोगको संक्रमणबाट बच्न सम्भव सबै उपायहरु अवलम्बन गर्नुहुन अनुरोध छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजैलै सर्ने भाइरसका कारण हुने रोग हो ।
३. संक्रमण फैलिदै गएकाले सावधानीका क्रममा साउदी सरकारले अधिराज्य भित्रका सम्पूर्ण विद्यालयहरु, विश्वविद्यालय, मदरसाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको छ ।
४. सक्रमण नियन्त्रणमा अपनाइने सावधानीका क्रममा साउदी सरकारले आजैबाट United Arab Emirates, Kuwait, Bahrain, Lebanon, Syria, South Korea, Italy र Iraq का सम्पूर्ण आवागमन बन्द गरेको छ । आवागमन बन्द भएका कारण राजदूतावासले यूएई ट्रान्जिट हुदै नेपाल पठाउनका लागि आज सबेरै विमानस्थल लगिएका तीनजना नेपाली महिलाहरुलाई राजदूतावासमै फिर्ता ल्याउनु परेको छ ।
अतः विदामा नेपाल जाने, नेपालबाट परिवारका सदस्यहरु ल्याउने वा अन्य यात्रा तय गर्दा सम्पूर्ण कुराहरुलाई विचार गरी यथेष्ठ सूचनाका आधारमा मात्र गर्नुहुन अनुरोध छ ।
५. साउदी सरकारले Saudi Center for Disease Prevention and Control लाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । अतः रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिने प्रयास गर्नुहुन अनुरोध छ । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्नुहोस् ।
यस रोगको संक्रमणको शंका भएमा तुरुन्तै साउदी सरकारले उपलव्ध गराएको Health Service Centre को टेलिफोन नं ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहुन समेत अनुरोध छ ।
६. साउदी अरबमा विभिन्न मुलुकका नागरिकहरु कार्यरत रहेका हुंदा उनीहरुसंगको भेटघाट, अंकमाल तथा हातमिलाउने कार्यलाई अत्यावश्यक अवस्थाका लागि मात्र सीमित गर्नुहुन अनुरोध छ । विदेशी नागरिकहरु धेरै भेला भएका स्थानहरुमा अत्यावश्यक भएमा बाहेक नजानुहोस् ।
७. रुघा खोकी लागेका, ज्वरो आएका तथा स्वासप्रस्वाशमा समस्या देखिएका जो कोहीसंग पनि सजगताका साथ व्यवहार गर्नुहोस् र केही दुरीमा बस्नुहोस् ।
८. नेपाली समुदायले आयोजना गर्ने सामूहिक कार्यक्रम कुनै भएका हाललाई बन्द गर्नुहोस् ।
९. नियमित हात धुनुहोस्, खोक्दा तथा हाछ्युं गर्दा अनिवार्य रुमाल वा टिस्युले नाक र मुख छोप्नुहोस् । सो उपलव्ध नभएमा हातको कुहिनाको भित्रिभागमा नाकमुख राखि गर्नुहोस् ।
१०. चराचुरूङगी तथा जनवारलाई नछुनुहोस् । कामका सिलसिलामा छुनुपरेमा प्लाष्टिकको पञ्जा प्रयोग गर्नुहोस् । मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानुहोस् ।
११. मादक पदार्थ सेवनबाट शरीर शीथिल हुने र शीथिल शरीरमा रोगव्याधीले सजिलै आक्रमण गर्ने एवं शरीरमा रोग लागेको अड्कल गर्न समेत कठीन हुने भएकाले मादक पदार्थ सेवन नगर्नुहोस ।
साउदी अरबमा मादक पदार्थ सेवन गर्नु गम्भीर अपराध भएको समेत यहां पुन: स्मरण गराइन्छ ।
नेपाली राजदूतावास
रियाद ।
२०७६।११।२५