वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जोनसोन एण्ड जोनसोन खोपको माग

डिसी नेपाल
२९ असार २०७८ १३:०४

काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारसँग अमेरिकाबाट आएको जोनसोन एण्ड जोनसोन खोपको प्रस्ताव गरिएको बताएका छन्। तर, उनका अनुसार सो प्रस्ताव मन्त्रालयबाट निर्णय भई आइसकेको छैन।

अमेरिका र चीनबाट कोरोनाविरुद्धको खोप आएसँगै स्वास्थ्य सेवा विभागको खोप शाखाले खोप पाउने समूहको प्राथमिकता तोकेको छ। र, सो खोप आज (मंगलबार)देखि लगाउन सुरु गरिएको छ। जसमा वैदेशिक रोजगारीमा जाने कामदारहरु पनि परेका छन्।

हाल अमेरिकाबाट आएको एक डोज लगाए पुग्ने जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप र चीनबाट आएको ८ लाख भेरोसेल गरी २३ लाख डोज खोप नेपालमा उपलब्ध छ।

महानिर्देशक दवाडीका अनुसार म्यानपावर व्यवसायीहरुले पनि वैदेशिक रोजगारीमा जाने कामदारको लागि खोपको माग राख्दै विभागमा निवेदन दिएका छन्।

उनले भने, व्यवसायीहरुले निवेदन दिनु भन्दा अगाडि हामीले श्रमिकको अवस्थालाई मध्यनजर गर्दै पहिल्यै मन्त्रालयसँग खोपको माग गरिसकेका थियौं। त्यसपछि व्यवसायीहरुले पनि खोपको लागि प्राथमिकता दिइयोस् भनेर निवेदन दिनु भएको छ।’

विशेषत एक डोज लगाउदा हुने जोनसोन एण्ड जोनसोन खोप वैदेशिक रोजगारीमा जाने कामदारलाई प्राथमिकता दिएको खण्डमा समयमै विदेश उड्न बाधा नहुने बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारलाई खोप दिनु भन्ने हाम्रो प्रस्ताव हो। तर, सरकारले निर्णय नै गरेको छैन। कमसेकम वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई प्राथमिकता दिएर जोनसोन एण्ड जोनसोन खोप केही डोज राखियोस भन्ने हाम्रो अनुरोध पनि हो।’

श्रमिकलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था गरिदिने बारे विभागले श्रम मन्त्रालयलाई पत्राचार गरी अनुरोध गरेको र अब श्रम मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग छलफल गरी प्रस्ताव स्वीकार होला भन्नेमा आशावादी रहेको महानिर्देशक दवाडीले बताए ।

हाल नेपाली कामदार जाने मलेसियालगायत खाडी मुलुकहरुले फाइजर, बायोएनटेक, मोर्डना, जोन्सन एण्ड जोन्सन र अस्ट्राजेनेका गरी पाँच कम्पनीका खोपलाई अनुमति दिएका छन् भने खोपलाई प्राथमिकतामा राखेका कतार, साउदी अरब, बहराइन र ओमानले क्वारेन्टिनमा बस्ने विदेशी कामदार लिइरहेका छन् ।

त्यस्तै, यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने बताएको छ भने कुवेतले अनुमति दिएको खोपको दुवै डोज लगाएका विदेशीलाई आगामी अगस्ट पहिलो तारेखदेखि प्रवेश दिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *