विराटनगरबाट ४१ किलोमिटर टाढा पर्ने पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै
काठमाडौँ । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ। पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ।
यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ । भक्त जनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् । उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताए।
“सन्तान प्राप्ति होस् भनेर आउनेको सङ्ख्या धेरै छ”, उनले भने । पछिल्लो समय पिण्डेश्वरमा बाह्य पर्यटकसमेत घुम्न आउन थालेका छन् । यहाँ पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । गत सोमबारसम्म झण्डै ८० हजार भक्तजनले पिण्डेश्वरको दर्शन गरेको पुजारी पोखरेलले जानकारी दिए ।
“मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ । मन्दिरको कलाकृति पनि लोप हुँदै गएको छ”, उनले भने । भवन जीर्ण हुँदा डराइडराइ बस्नुपरेको पोखरेल बताउँछन् । मन्दिरबारे स्थानीय तहले ध्यान नदिएको उनको गुनासो छ । मन्दिर परिसरमा स्थानीयवासीले फूलपाती र प्रसादको व्यापार गर्दै आएका छन्।
सुनसरीको दुहबीबाट पूजा गर्न आउनुभएकी सपना चौधरी आफू हरेक वर्ष साउनमा पिण्डेश्वरमा भगवान् शिवको पूजा गर्न आउने गरेको बताउँछन् । उनी यहाँ गाईको दूध चढाउन आउँछन् । “पहिलाभन्दा मन्दिर वरपर फोहर बढेको छ, शौचालय व्यवस्थित गर्न सकेका छैनज्”, चौधरीले भने ।
यस्तै विराटनगरबाट पूजा गर्न आएकी गीता कार्की आफ्नो लागि साउन महिना खास रहेको बताउँछन् । साउनमै आफूलाई छोरी प्राप्ति भएकाले पिण्डेश्वर धाम आउने गरेको उनले बताए । साउनमा माछा मासु नखाई भक्तजन पिण्डेश्वरमा पूजापाठ गर्न आउने गरेका छन्।
सुनसरीको खनारका दीपक थापा बेलाबेलामा परिवार र साथीभाइसँग पिण्डेश्वर आउने गरेको बताउँछन् । उनले यहाँ घुम्न आउनेका लागि पानी र शौचालयको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिए । मन्दिरमा भेटिनुभएकी विराटनगरकी सुष्मा पराजुली बर्सेनी पिण्डेश्वर धाममा आउने गरेको बताउँछन् । “यहाँको दर्शन गर्दा मन आनन्दित हुन्छ, इच्छयाएको कुरा प्राप्त हुन्छ”, उनले भने। मन्दिर छेउमै ‘सरस्वती स्वभर पोखरी’ रहेको छ। सो क्षेत्रको संरक्षण भने हुन सकेको छैन। रासस







डिसी नेपाल








Facebook Comment