आफ्नै पार्टीका वरिष्ठ नेताद्वारा ट्रम्पको चर्को आलोचना
बीबीसी । अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिइकनै भनेका छन्– राष्ट्रपतिको निर्णयले वाशिङ्टनका शत्रुहरूलाई बलियो बनाउने छ, अमेरिकाको गठबन्धनलाई कमजोर बनाउने छ र अमेरिकीहरूलाई थप असुरक्षित बनाउनेछ।
म्याक्कोनेलले द वाशिङटन पोष्टमा लेखमार्फत त्यस्तो प्रतिक्रिया दिएका हुन्। आलोचकहरूले सिरियामा इस्लामिक स्टेट लडाकुहरू विरुद्ध लड्ने काममा अमेरिकालाई सघाएका कुर्द नेतृत्वको फौजको साथ छोडेको आरोप लगाएका छन्।
तर ट्रम्पले आफ्नो निर्णयले हजारौँ हजारको जीवन बचाएको दोहोर्याएका छ्न्। गत बुधवार राष्ट्रपति ट्रम्पले टर्की सिरिया सीमा अमेरिकाका लागि रणनीतिक रूपमा अति राम्रो रहेको भनेका थिए।
अमेरिकाको सक्रियतामा युद्धविराम घोषणा गरिए पनि उक्त क्षेत्रमा छिटपुट लडाइ भइरहेको छ। सम्झौतामा टर्की पाँच दिनसम्म उसको कारबाही रोक्न सहमत बनेको थियो त्यसबेला कुर्द लडाकुहरू उक्त क्षेत्रबाट बाहिरिनेछन्।
ट्रम्पले उक्त सीमा क्षेत्रबाट अमेरिकी फौज हटाएपछि अङ्काराले पहिलो आक्रमण सुरु गरेको थियो। टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले कुर्द लडाकुलाई (जसलाई टर्कीले आतङ्ककारी भन्छ) उत्तरी सिरियाबाट हटाउन र हाल टर्कीमा रहेका २० लाख सिरियाली शरणार्थीलाई पुनर्स्थापित गराउन सुरक्षित क्षेत्र बनाउने लक्ष्य राखेका छन्।

युद्ध सुरु भएयता तीन लाखसम्म मानिसहरू आफ्न घर छोडेर हिँडेका र टर्कीको कारबाहीका कारण त्यहाँका कुर्द जनसङ्ख्याको जातीय सफाया हुने त्रासहरू व्यक्त गरिएका छन्।
टर्कीले उक्त क्षेत्रमा सम्भावित युद्ध अपराध गरेको हुनसक्ने भन्दै चिन्ताहरू प्रकट गरिएको छ। पुष्टि हुन नसकेका समाचारहरूमा टर्कीको फौजले सिरियामा ह्वाइट फोस्फोरस प्रयोग गरेको हुनसक्ने बताएका छन्।
द वाशिङटन पोष्टमा म्याक्कोनेलले अमेरिकी फौज फिर्ता गर्नु भयानक रणनीतिक गल्ती भनेका छन्। म्याक्कोनेल सिनेटमा बहुमत रहेको रिपब्लिकन नेता हुन् र ट्रम्पको रिपब्लिकन पार्टीका एकजना वरिष्ठ सदस्य हुन्।
‘अमेरिकी फौज फिर्ती र टर्की कुर्द तनावले हाम्रो देशमा रणनीतिक दुस्वप्न पैदा गरेको छ,’ उनले लेखेका छन्। यदि युद्धविराम कायम भए पनि टर्कीको आक्रमण र अमेरिकी फौझ फिर्ताका कारण इस्लामिक स्टेटविरुद्ध वाशिङटनको लडाइमा धक्का लागेको छ। म्याक्कोनेलले यो कदमले उक्त क्षेत्रमा रुसी र इरानी प्रभाव बढ्ने बताएका छन्।







डिसी नेपाल








Facebook Comment