ब्रेक्जिटले हैरान : ब्रिटेन डिसेम्बरमा चुनाव गर्न जोनसनको फेरि प्रस्ताव

डिसी नेपाल
८ कार्तिक २०७६ १९:१३

लन्डन (रासस/एएफपी) । युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटमा बेलायती संसद्मा सहमति जुटाउन असफल भएपछि प्रधानमन्त्री बोरिस जोनसनले आगामी डिसेम्बर १२ मा संसदको चुनाव गर्ने प्रस्ताव गरेका छन् । उनको विचारमा नयाँ चुनावले ब्रेक्जिटमा देखिएको गतिरोध अन्त्य हुनेछ ।

पछिल्ला मतसर्वेक्षणहरुले संसद्को चुनाव भएमा कन्जरभेटिभ्स पार्टीका नेता समेत रहेका प्रधानमन्त्री जोन्सन नै विजयी हुने देखाएका छन् । विपक्षी दलहरु मध्यावधि चुनाव गर्ने वा नगर्ने अथवा युरोपेली सङ्घ (इयू) बाट बेलायत बाहिरिने सन्दर्भमा पुनः जनमतसंग्रह गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलमै रहेकाले पनि जोन्सनको दल अगाडि देखिएको हो । बेलायती जनमत र नेताहरु विभाजित रहेकाले यसको फाइदा जोन्सनलाई पुग्ने अनुमान गरिएका छन् । यसअघि सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा इयूबाट बेलायत बाहिरिनुपर्छ भन्नेमा झिनो बहुमत थियो ।

प्रधानमन्त्री जोनसनले इयूबाट बेलायतको बहिर्गमन अपरिहार्य रहेको बताउँदै आएका छन् । झण्डै ५० वर्षदेखि इयूको सदस्यको रुपमा रहेको बेलायतको इयूबाट बहिर्गमनका लागि पटकपटक मिति तोक्ने कार्य हुँदैछ । पछिल्लो पटक यही अक्टोबर ३१ को मिति तोकिएको थियो । बेलायत सरकारले आगामी सोमबारसम्ममा निर्वाचनको मिति प्रस्ताव गर्ने र त्यसलाई संसद्ले अनुमोदन गर्ने विश्वास लिएको छ । इयूले पनि ब्रेक्जिटको लागि नयाँ मिति तय गर्नेछ, अर्थात् करीब तीन महीना म्याद थप गर्ने अनुमान गरिएको छ ।

तर बेलायती विपक्षी सांसदहरुले चुनावका लागि प्रधानमन्त्री जोन्सनले यसअघि गरेका दुई वटा अनुरोधलाई अस्वीकृत गरिसकेको छ । यसैले प्रधानमन्त्रीको नयाँ प्रस्ताव पनि संसद्ले अनुमोदन गर्ने सम्भावना झिनो छ किनभने चुनाव घोषणा गर्न संसद्को दुई तिहाई आवश्यक पर्दछ । प्रधानमन्त्री जोनसनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई एक पत्र लेख्दै यो म्याद थप्दै जाने हास्यास्पद कार्य बन्द गर्न विपक्ष पनि सहमत हुनुको विकल्प नरहेको बताएका छन् । देशलाई अल्मल्याउने कार्य तत्काल बन्द गर्न उनले आग्रह गरेका छन् ।

प्रधानमन्त्री जोनसनले फेरि पनि सन् २०२० मा अर्को म्याद थप्ने कुरा स्वीकार्य नहुने बताए । ‘संसद्ले मुलुकलाई निरन्तर बन्धक बनाउन हुँदैन,’ उनले भने । बिना सम्झौता ब्रेक्जिट नगर्ने सरकारको प्रष्ट धारणा आए मध्यावधि चुनावका लागि सहमत हुन सकिने धारणा पनि विपक्षी पार्टीले बेलाबखत राख्दै आएका छन् । पार्टीका संसदीय मामिला प्रवक्ता भ्यालेरी भाजले बिना सम्झौता ब्रेक्जिटबाट सरकार पछि हटे मध्यावधि चुनावमा पार्टी सहमत हुन सक्ने बताए । उनले ब्रेक्जिटका लागि समयावधि थप गर्न सरकार सहमत पनि हुनुपर्ने शर्त पार्टीको रहेको स्पष्ट गरे । एकजना युरोपेली कुटनीतिज्ञले इयूका नेताहरुले ब्रेक्जिटको समयावधि थप गर्ने बारेमा छलफल हुन लागेको जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.