महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता, ५ वर्ष कैद माग

डिसी नेपाल
१४ कार्तिक २०७६ १७:०१

काठमाडौं। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकीलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनसहित बिहीबार मुद्दा दायर गरेको हो।

मुद्दामा महरालाई ५ वर्षको कैद सजाय माग गरिएको छ। मुलुकी संहिताअनुसार कुनै पनि कसुरको उद्योग गर्नेलाई आधा सजाय हुने व्यवस्थाअुसार सो सजाय माग दावी गरिएको हो।

गएको असोज १३ गते राती महरा संसद सचिवालयकी कर्मचारी शाहीको कोठमा प्रवेश गरेको र बलात्कार गरेको शाहीले पहिलो भिडियोमा सार्वजनिक गरेकी थिइन्।

तर, उनले बेला बेला आफ्नो बयान भने बदलिरहेकी छन्। पहिलो पटक उनले सञ्चार माध्यमसँग कुरा गर्दै महराले बलात्कार गरेको र आफुमाथि कुटपिटसमेत गरेको बताएकी थिइन्। तर, पछि उनले महरा आफ्नो कोठामा नै नआएको बताएकी थिइन्। यहीबीचमा उनका श्रीमानसँग पारपाचुकेसमेत तयारी भएपछि उनले प्रहरीमा बलात्कार प्रयास भएको निवेदन दिएकी थिइन्। यौन काण्डमा मुछिएपछि सत्तारुढ दल नेकपाले उनलाई सभामुख र सांसदबाट राजीनामा दिन भनेको थियो। १५ गते उनले सभामुखबाट राजीनामा दिएपनि हालसम्म सांसदबाट भने राजीनामा दिएका छैनन्। उनी असोज १९ गते पक्राउ परेका थिए।

हाल प्रहरीको हिरासतमा रहेका महराले अनुसन्धानमा प्रहरीलाई सहयोग नगरेको प्रहरीले बताएको छ। बिहीबार मुद्दा दर्ता भए पनि थुनछेक बहस भने नभएपछि उनी प्रहरीको हिरासतमै रहने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.