कन्फेडेरेसन अफ एसियन जर्नालिस्ट् युनियन्स्को उपाध्यक्षमा नेपालका सिलवाल

डिसी नेपाल
२४ कार्तिक २०७६ ८:४७

कोलम्बो । श्रीलंकाको राजधानी कोलोम्बोमा कन्फेडेरेसन अफ एसियन जर्नालिस्ट युनियन्स् (काजु) को औपचारिक घोषणा गरिएको छ।

कन्फेडेरेसनमा प्राथमिक रुपमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको प्रतिनिधित्व रहेको छ। श्रीलंकाली राजधानी कोलम्बोमा २५ अक्टोबरमा सम्पन्न श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए) को ६४औं वार्षिक सम्मेलनका क्रममा केही बर्षदेखि निष्क्रिय रहेको सार्क सदस्य राष्ट्रका पत्रकारहरुको प्रतिनिधी संस्था काजुलाई एसएलपिएको अगुवाइमा ब्युँताइएको हो।

सो सम्मेलनमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको सहभागिता थियो। १९७० को दशकको प्रारम्भतिर भेट्रान श्रीलंकाली पत्रकार स्वर्गीय डिएफ कारियाकार्वानाको ब्रेनचाइल्डको रुपमा स्थापना भएको यो संस्थाले यस क्षेत्रका पत्रकारहरुले सामना गरिरहेका साझा मुद्दालाई सम्बोधन गर्ने उद्देश्य बोकेको छ।

नवनियुक्त अध्यक्ष मुदिता कारियाकार्वानाले कन्फेडेरेसनका सदस्यहरु संस्थालाई दक्षिण एसियाली पत्रकारको साझा मञ्च बनाउन यसलाई पूर्ण रुपमा क्रियाशील बनाउन प्रतिबद्ध रहेको बताए। कारियाकार्वाना एसएलपिएका समेत अध्यक्ष हुन्।

उद्घाटन बैठकमा बोल्दै कन्फेडेरेसनका नवनियुक्त महासचिव तथा भारतीय पत्रकार परमानन्द पाण्डेले यस क्षेत्रका पत्रकारको चुनौती समान रहेको बताए। पाण्डे इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे) का महासचिव हुन् ।

कन्फेडेरेसनका नवनियुक्त उपाध्यक्ष नेपालका अशोक सिलवालले दक्षिण एसियाका पत्रकारको समस्या समान रहेकोले समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए।

स्वतन्त्र पत्रकार सिलवाल लाङटाङ सद्भावना दूत समेत हुन् । कार्यक्रममा रोजगारी सुनिश्चितताको अभाव र हचुवा बर्खास्तगीलाई यस क्षेत्रका पत्रकारको साझा समस्याको रुपमा चित्रण गरिएकोे थियो।

सार्क मुलुकका पत्रकारहरुको संगठन यो कन्फेडेरेसन पूर्ण सञ्चालनमा आएपछि हरेक मुलुकमा च्याप्टर खुल्ने उपमहासचिव कुरुलु कोजाना कारिवाकार्वानाद्धारा जारी विज्ञप्तिमा बताइएको छ।

प्रमुख संरक्षक कलाकिर्थी इड्विन आरियादाशा श्रीलंका र संरक्षक बीभी मल्लिकार्जुना (भारत) रहेको काजुमा अध्यक्ष मुदिता कारियाकार्वाना (श्रीलंका), कार्यकारी उपाध्यक्ष हेमन्त तिवारी (भारत), उपाध्यक्ष शकिल यामिन कंगा (पाकिस्तान), उपाध्यक्ष अशोक सिलवाल (नेपाल), महासचिव परमानन्द पान्डे (भारत) , उपमहासचिव कुरुलु कोजाना कारिवाकार्वाना (श्रीलंका), सहसचिव सिद्धार्थ कलहान्स (भारत) , प्रमुख संयोजक मदन गौडा (भारत), कोषाध्यक्ष शिवानन्द थागुर (भारत) रहेका छन्।

त्यसैगरी भारतस्थित व्यवस्थापन सचिव गितिका तालुकदार, श्रीलंकास्थित व्यवस्थापन सचिव केलुम बन्दारा, पाकिस्तानस्थित व्यवस्थापन सचिव डारा जाफर र नेपालस्थित व्यवस्थापन सचिव हिमाल घिमिरे रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.