कूटनीतिक संवादबाट मिचिएको भूमि फिर्ता गर्न माग

डिसी नेपाल
२७ कार्तिक २०७६ २३:३०

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले दार्चुलाको लिपुलेक, कालापानीलगायत क्षेत्रलाई समावेश गरी हालै भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गरेको छ ।

सङ्गठनले आज विज्ञप्ति जारी भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताविरुद्ध नेपालको भूगोल समेटेर जारी गरिएको उक्त नक्सा तत्काल खारेज गर्न भारत सरकारसमक्ष माग गरेको हो ।

सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्णराज केसीद्वारा जारी विज्ञप्तिमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकीसँग पारस्परिक सम्बन्ध स्थापित गर्नुपर्ने भन्दै त्यस विपरीत कुनै पनि राष्ट्रले स्वतन्त्र राष्ट्रको स्वाभिमानमाथि गर्ने हस्तक्षेप मान्य नहुने जनाइएको छ ।

‘हाम्रो सङ्गठन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवादमार्फत मिचिएको नेपाली भूमि फिर्ता गर्न, सीमा क्षेत्रमा यथोचित सुरक्षाको प्रबन्ध गर्न, सीमा क्षेत्रका नेपाली नागरिकको सम्पत्ति र स्वाभिमानको पूर्ण प्रत्याभूति गर्न र नेपालका तर्फबाट लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको सम्पूर्ण भू–भाग समेटिएको आधिकारिक राजनीतिक नक्सा सार्वजनिक गर्न जोडदार माग गर्दछ ।’

विज्ञप्ति भनिएको छ, ‘राष्ट्रिय स्वाभिमानका पक्षमा देशभित्र देखिएको अभूतपूर्व राष्ट्रिय एकताले गुमेको नेपाली भूमि फिर्ता गर्ने ऐतिहासिक अवसर सिर्जना भएको तथ्यलाई मनन गर्दै भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका पक्षमा एकताबद्ध हुन सम्पूर्ण देशभक्त, प्रगतिशील शक्ति एवं आम जनसमुदायमा अपिल गर्दछौँ ।’ रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.