कारागारको समस्या समाधान गरिनेछः मुख्यमन्त्री पौडेल

डिसी नेपाल
२८ कार्तिक २०७६ १९:५०

हेटांैडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी कारागारमा भएका समस्याको समाधानमा प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरी समाधान गर्ने बताएका छन् । लायन्स क्लब अफ भुटनदेवीको आयोजनामा भीमफेदी कारागारमा भएको पुस्तकालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताए ।

कारागारमा भएका समस्या खानेपानी, फोहर व्यवस्स्थापन, आन्तरिक सुरक्षा, स्वास्थ्यदेखि विद्यालय निर्माणसम्मका समस्याको बारेमा अवगत भएपछि मुख्यमन्त्री पौडेलले एकै पटकमा नसके पनि पालैपालो सबै समस्या समाधान गरिने बताए । उनले भने, “सबै समस्या एकै पटक हल हुँदैनन् तर पालैपालो हल गरिन्छ, फोहरमैला व्यवस्थापन त तत्कालै गर्नुपर्ने अवस्था रहेछ, त्यो सकिन्छ”, उनले वर्तमान सरकार उद्धार प्रवृत्तिको सरकार भएकोले कारागारलाई अब जेलभन्दा पनि सुधारगृहको रुपमा हेरिने बताए । आफू पहिले जेल पर्ने बेलामा एउटा किताब मगाएर पढ्न जेलरले सेन्सर गरेको, आफूले पढेर १५ दिनपछि बल्ल दिने व्यवस्था भएको र हाल जेलभित्र नै पुस्तकालय हुनुले पनि जनताको सरकार आएको बुझ्न सकिने मुख्यमन्त्री पौडेलको भनाइ छ । साथै कारागारभित्र बसेर सबै प्रकारका ज्ञान हासिल गरेर सक्षम नागरिक बन्न सुझाए । सरकारले हरेक क्षेत्रमा दिन सक्ने जति सेवा सुविधा दिन तयार भन्दै कारागार प्रशासनलाई लिखितरुपमा नै समस्या पेश गरेर सहयोग माग्नसमेत उनले सुझाए ।

कारागारका जेलर प्रकाश खनालले मुख्यमन्त्री पौडेललाई कारागारभित्र भएका समस्याको विषयमा अवगत गराए । उनले कारागारमा रहेका कैदीबन्दीलाई विद्यालय तथा क्याम्पसको आवश्यक्ता रहेको बताए । कारागारभित्रनै विद्यालय र क्याम्पस हुँदा कैदीबन्दीलाई पठनपाठनमा सहयोग पुग्ने र कारागारमुक्त हुँदा एउटा शिक्षित नागरिक भएर निस्कने उनको भनाइ छ । साथै कारागारभित्र स्वास्थ्य जाँचको समस्या रहेको भन्दै स्वास्थ्य केन्द्र स्थापनामा जोड दिनको लागी उनले मुख्यमन्त्री पौडेललाई आग्रह गरे । कारागारभित्र दिसाजन्यलगायत अन्य फोहरमैला व्यवस्थापनको समेत समस्या रहेको जेलर खनालले बताए ।

कार्यक्रममा भीमफेदी गाँउपालिकाका उपाध्यक्ष पार्वती रानाले कारागारभित्र पुस्तकालय हुँदा कैदीबन्दीलाई बाहिरी ज्ञानको लागि सजिलो हुने बताए । बाँकी समस्याका विषयमा गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्न स्थानीय सरकार तयार रहेको उनको भनाइ छ । लायन्स क्लबका रजनी तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.