आलमलाई जेल पठाउने न्यायाधीश र वकिल नै आलमसँग त्रसित, सरुवा गरिदिन हारगुहार
काठमाडौं। पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमको गृहजिल्ला रौतहटमा ठूलो दबदबा भएको पाइएको छ । हिजो उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएसँगै आदेश दिने न्यायाधीश र उनको विपक्षमा बहस गर्ने सरकारी वकिलले जिल्ला छाडेका छन् ।
पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका छन् । आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् ।
अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् ।
मुद्दा नचलाउन न्यायाधिवक्ता कटवालमाथि र आलमलाई साधारण तारेखमा छाड्न न्यायाधीश ढकालमाथि दबाब परेको थियो । आलमको पक्षमा आदेश नआए जेसुकै हुन सक्ने सन्देश पनि उनीहरूले पठाएका थिए । आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन् । स्रोतका अनुसार उनीहरूको सरुवाबारे छलफल अघि बढिसकेको छ ।







डिसी नेपाल







Facebook Comment