कस्तो छ आर्यन र मिरुनाको ‘च च हुई’को व्यापार ?
काठमाडौं। अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर अभिनित चलचित्र ‘च च हुई’ हलमा प्रदर्शनरत छ। साम्तेन भुटिया निर्देशित तथा अमृत घोले लामा निर्मित चलचित्र गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो।
चलचित्रबाट आर्यन र मिरुनाले निकै ठूलो आशा राखेका थिए। किनकी यी दुई अभिनित पछिल्ला चलचित्रको व्यापार सुःखद थिएन्। यता कुनै पनि चलचित्र सफल दिन नसकेका निर्देशक साम्तेन र यसै चलचित्रमार्फत निर्माणमा भित्रिएका अमृतका लागि पनि ‘च च हुई’बाट ठूलो आशा थियो।
तर, चलचित्र हेर्न हलमा दर्शकको उत्साहजनक भीड नदेखिनुले कलाकार, निर्माता तथा निर्देशकको आशा निराशामा परिणत हुने देखिएको छ। चलचित्रले शुरुवाती दिनदेखि नै कमजोर व्यापार गरेको छ।
डिसी नेपालसंगको कुराकानीमा उपत्यका वितरण करण श्रेष्ठ चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसकेको स्वीकार्छन्। यद्यपी शुक्रबार र शनिबारको बिहानी शोमा दर्शकको संख्या कम भएपनि दिउँसोको शोबाट भने चलचित्रले गति लिएको करण बताउँछन्। उनी भन्छन् –‘चलचित्रले अपेक्षा गरेअनुसारको ओपनिङ गर्न नसकेकै हो। शुक्रबार बिहान दर्शकको उपस्थिति खासै थिएन्। शनिबार बिहान पनि अपेक्षित भएन्। तर शनिबार दिउँसोबाट चलचित्रले गति लिएको छ। आईतबार पनि हलमा दर्शकको उपस्थिति राम्रै रह्यो।’
उनी चलचित्रको ओपनिङ कमजोर रहेको तर खराब भने नभएको तर्क गर्छन्। ‘ओपनिङ कमजोर हो। यो नकार्न मिल्दैन। तर खराब भने होइन्’–उनी भन्छन्।
चलचित्रले तीन दिनमा उपत्यकाभित्र ३२ लाख ग्रस कलेक्सन गरेको उनले जानकारी दिए।
चलचित्रको व्यापार अपेक्षित नहुनुको कारण खोज्दै करण भन्छन् –‘व्यापारमा समयले पनि फरक पार्छ। चिसो मौसमका कारण पनि दर्शक हलसम्म जान गाह्रो मान्छन्। चाडपर्वको विदा सकिएको पनि धेरै भएको छैन्। अर्को प्रचारप्रसार पनि कम भएको हुनसक्छ।’
उनी चलचित्र हेरेका दर्शकले भने राम्रो प्रतिक्रिया दिएको बताउँछन्। दर्शकले रुचाएका कारण चलचित्रको व्यापार बढ्दै जानेमा उनी आशावादी देखिन्छन्। चलचित्र हेर्नेले मेकिङ तथा कलाकारहरुको अभिनयको प्रसंशा गरेका छन्।
हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा पुस्तकले ल्याउने उतारचढावलाई रमाईलो तरिकाले चित्रण गरिएको चलचित्रमा आर्यन र मिरुनाका साथमा भोलाराज सापकोटा शीर्ष भूमिकामा छन्।
आर्यन र भोलाराज धेरै वर्षपछि हङकङबाट नेपाल फर्किएका युवकको भूमिकामा प्रस्तुत चलचित्रमा मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन्।







डिसी नेपाल








Facebook Comment