सपना देख्नेले मात्र मुलुकको विकास र समृद्धिलाई गति दिन सक्छन्ः उपप्रधानमन्त्री पोखरेल
फाइल फाेटाे
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज यहाँ शिलान्यास गर्दै उनले सपना देख्नेले मात्र मुलुकको विकास र समृद्धिलाई गति दिन सक्ने बताउँदै मुर्छित सपनालाई जागृत गर्न आम नेपाली युवा लाग्नुपर्ने भनाइ राखे ।
उनले सपना देखेर नै विकासका काम हुने भन्दै सपना देख्ने साथीहरुको अभियान नै स्काई वाक टावर निर्माणकार्यको प्रारम्भ भएको उल्लेख गरे । “सपना नदेख्नेले मुलुकलाई गति दिन सक्दैनन्, परिवर्तन गर्न सक्दैनन् । हिजो सपना देख्नेलाई लाञ्छित गरिन्थ्यो, अझै पनि रहलपहल रहेका छन्”, उनले भने, “सपना देख्नेलाई लाञ्छित गर्ने पात्र अझै यदाकदा अलिअलि रहेका छन् । सपना देख्नेलाई गाली गर्नेले यो स्काई वाक टावरको निर्माणबाट सिकुन्, बुझुन् र जानुन् ।”
नयाँ काम गर्ने सङ्कल्प तथा घोषणाअनुसार उक्त कार्यको शुभारम्भ गरिएको भन्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानलाई पूरा गर्न काम गरेर देखाउनुपर्ने धारणा राखे ।
उनले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पु¥याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त स्काई वाक टावरले पर्यटन क्षेत्रमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली युवाहरुले अन्तरराष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानसित तथा कमाइको केही रकमलाई नेपालमा प्रयोग गर्दै स्काई वाक टावरको निर्माणमा जुट्नु नेपालमाथिको भरोसा जाग्दै गएको बताउँदै निरासावादी चिन्तनलाई परास्त गर्दै देशमै केही सम्भावना छ भन्ने विश्वास पैदा भएको बताए ।
लगानीको सम्भावना छ, सही ढङ्गले प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास आम नेपाली युवाहरुमा जागृत हुँदै गएको उल्लेख गर्दै उहाँले युवाहरुको जोश, जाँगरका साथ शुरु गरिएको कार्यले विश्वभरलाई प्रेरणाको स्रोतको साथमा लगानीको वातावरण सिर्जनामा थप टेवा पुगेको बताए ।
स्काई वाक टावर पर्यटन प्रवद्र्धनसँग सहयोग पु¥याउने भन्दै उनले पर्यटन क्षेत्र नै मुलुकको समृद्धि तथा रोजगारीको आधार भएको बताए । उनले गुणस्तरीय पर्यटन प्रवद्र्धनकै लागि नेपाल भ्रमण वर्ष–२०२० को आयोजना गरी २० लाख पर्यटक भित्र्याउने सरकारले अभियान चलाएकाले सबैले साथ र सहयोग गर्न आग्रहसमेत गरे ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आम नेपाली युवाको सपना नै यथार्थको बाटोका रुपमा एउटा उदाहरणका लागि स्काई वाक टावर रहेको उल्लेख गर्दै समृद्ध नेपालको राष्ट्रिय चाहनालाई पूरा गर्न उक्त कार्यले विशेष भूमिका निर्वाह गर्ने बताए । उनले टावर निर्माणले देश निर्माणको अभियानमा जुटेकालाई मार्गनिर्देश तथा आधार तयार गरेकोसमेत बताए। उनले स्काई वाक टावरले नेपालको अर्को परिचय नै थप हुने भएको समेत दाबी गरे।
नेपाली काङ्ग्रेसका नेता रामशरण महतले स्काई वाक टावर निर्माणसँगै युवा जोश जाँगरले मुलुकलाई डो¥याउने कार्यको शुभारम्भ भएको बताए । देश विकासको निम्ति विदेशमा कमाएको रकम तथा सीपलाई आफ्नो मुलुकमा प्रयोग गर्नु नै समृद्धिको आधार भएको उल्लेख गरे ।
उक्त स्काई वाक टावर तीन सय करोडको लगानीमा ७८ मिटर अग्लो बन्ने भएको परियोजना निर्देशक सञ्जीव रोकाले जानकारी दिए । टावर शिलान्यास गरिएको १८ महिनाभित्रमा निर्माण निर्माण भइसक्ने छ ।







डिसी नेपाल







Facebook Comment