नेकपा स्थायी कमिटी बैठक : स्थानीय तहसम्मको एकतालाई पूर्णता दिन सुझाव
काठमाडौं । पार्टी एकताको धेरै काम सम्पन्न भए पनि स्थानीय तहसम्म त्यसले पूर्णता नपाएकामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरुले गुनासो गरे । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा मंगलबार बसेको स्थायी कमिटीको बैठकमा स्थानीय तहसम्मको एकता प्रक्रियालाई तत्काल पूर्णता दिई थप सुदृढीकरण गर्नुपर्नेमा नेताहरुले जोड दिए।
एकता प्रक्रियाले लामो समय लिँदा कार्यकर्ता पङ्क्तिमा निराशा पैदा भएको, सङ्गठन भद्रगोल हुँदा पार्टीले जीवन पाउन नसकेको उनीहरुको जोड थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै स्थायी कमिटी सदस्यहरुले पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने र एकताका कुनै पनि काम बाँकी राख्न नहुने सुझाव दिएका थिए ।
यस्तै पार्टीको कार्ययोजना ठोस रुपमा आउनुपर्ने, एकता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझाव आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले सरकारको काम कारवाहीलाई अझै गति दिनुपर्ने र भए÷गरेका कामको समेत सकारात्मक प्रचारप्रसार गर्नुपर्ने बताए ।
स्थायी कमिटीका सदस्यले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार आज १३ जना स्थायी कमिटी सदस्य तथा आमन्त्रित सदस्यले सुझाव दिए । यसरी सुझाव दिनेमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शङ्कर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा हुनुहुन्थ्यो । स्थायी कमिटीको अर्को बैठक बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ ।







डिसी नेपाल








Facebook Comment