नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा तय
काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक यही पुस २३ गतेदेखि काठमाडौँमा गर्ने निर्णय भएको छ । गत २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हुनेछ।
पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला नेकपाको स्थायी कमिटी बैठकले एकीककरणका काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक डाकेको हो। केन्द्रीय कमिटीका ४४५ जना छन्। केन्द्रीय कमिटीको बैठक अगाडि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी साङ्गठानिक कामहरू (आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसङ्गठन) पूरा गरिसक्नेसमेत स्थायी कमिटीको बैठकले आइतबार निर्देशन दिएको छ।
नेकपाको स्थायी कमिटीको चौथो बैठक २०७६ मङ्सिर २९ गते शुरु भई आइतबार सकिएकाे हाे। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा सम्पन्न बैठकले अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बैठकमा व्यापक छलफल र विमर्शपछि प्राप्त विचार, सुझाव र धारणाको सम्बोधन हुने गरी प्रतिवेदनमा आवश्यक परिमार्जन गर्ने गरी सर्वसम्मतिले परिमार्जनसहित पारित भएको छ।
बैठकले महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाका आधारमा अन्तिम रुप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरेको छ । विधान संशोधन प्रस्तावमा प्रस्तावनामा पार्टीको नीतिगत कार्यक्रम समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख छ भने पार्टीमा उपाध्यक्ष पद सिर्जना गरी नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सचिवालयको प्रस्ताव छ।







डिसी नेपाल







Facebook Comment