घरेलु तथा साना उद्योगको प्रवर्धन सरकारको प्राथमिकतामा : मन्त्री भट्ट

डिसी नेपाल
१६ मंसिर २०७६ १६:३६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आइतबार भएको भेटमा उनले भने, ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिङ्गो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउन म दृढ छु ।’

उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै मन्त्री भट्टले समस्यामात्र होइन, समाधानका उपाय पनि पहिल्याउन व्यवसायीलाई आग्रह गर्दै समेत गरे ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेको बताए।

‘अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन, यो नेपालका लागि ठूलो चुनौतीको विषय बनेको छ’, उनले भने, ‘यसका पछाडि दुई–तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौँ, ती उद्योगहरु व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकाले छरपस्ट भइरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको सिकार बनिरहेका छन् उद्योगहरु ।
त्यसैगरी, प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ ।’ रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.