नर्सिङ केयर गिभरमा जापान जान नेपालबाट परीक्षा दिएका सबै फेल
काठमाडौँ। जापानले खुल्ला गरेको नयाँ भिसा प्रणाली अनुसार नर्सिङ केयरगिभरका लागि परीक्षामा नेपालबाट सहभागी भएका सबै परीक्षार्थी फेल भएका छन्। जापान फाउण्डेसनले गत कात्तिक लिएको भाषा र सीपको छुट्टाछुट्टै परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ।
जापान सरकारले लक्की ड्र मार्फत छानेर त्यसमा परेकालाई मात्र परीक्षामा सामेल गराएको थियो। लक्की ड्रमा ५ सय ७४ जना नेपाली परेका भएपनि पहिलो चरणको नर्सिङ केयर गिभर सीप परीक्षामा १५ जना र भाषा परीक्षामा १२ जना सहभागी भएका थिए।
जसमा सीप परीक्षा दिएका १५ जना नै फेल भएका छन् भने भाषा परीक्षा दिने १२ जनामा एक जना मात्र परीक्षार्थी पास भएको जापान फाउण्डेसनले जनाएको छ।
जापान फाउण्डेसनले फिलिपिन्स, कम्बोडिया, इन्डोनेसिया र नेपालमा लिएको परीक्षाको नतिजा एकै पटक सार्वजनिक गरेको हो। नतिजाअनुसार सबैभन्दा धेरै फिलिपिन्सका ४२ जना पास भएका छन्। फिलिपिन्सबाट ५३ जना परीक्षामा सहभागी थिए। त्यस्तै इन्डोनेसियाबाट सहभागी भएका ४६ जना परीक्षार्थी मध्ये १७ जना पास भएका छन्।

यसैगरी कम्बोडियाबाट परीक्षा दिएका १ सय १४ जना परीक्षार्थी मध्ये ४ जना मात्रै पास भएका छन् भने नेपालबाट एक जना पनि पास हुन सकेनन्।
छोटो समयमै भाषा तथा सीप परीक्षा आयोजना गरिएकाले नेपालबाट सहभागी सबै परीक्षार्थीहरू फेल भएको अनुमान गरिएको छ। त्यस्तै नेपाली परीक्षार्थी असफल हुनुको अर्को मुख्य कारण दक्ष प्रशिक्षक अभाव ठानिएको छ।
जापानले कृषि, होटल, निर्माण लगायत १४ क्षेत्रमा नेपालबाट कामदार लैजाने सम्झौता गरे पनि अन्य क्षेत्रमा कामदार लैजाने प्रक्रिया भने अघि बढ्न सकेको छैन।
फाउण्डेसनले यही डिसेम्बर र आउँदो जनवरीमासमेत पुन केयर गिभरको भाषा तथा सीप परीक्षा सञ्चालन गर्दैछ।







डिसी नेपाल








Facebook Comment