कविता – “कठघरामा उभिएको म” – अस्मिता आचार्य
सांकेतिक तस्बिर
कविता
कठघरामा उभिएको म

मिथ्या पुज्नेहरुमाझ
साँचो बोल्दा
फटाहा बनेको म,
कहिल्यै निरअपराध साबित भइन
झूठको अदालतमा।
तिमीहरुले पुज्ने ढुङ्गा ढोग्दिन
आफ्नो देउता आफैं रचेको हुन्छु ।
तिमीहरुझैं सर्वज्ञाता हुने भ्रममा बाँच्दिन
अज्ञानी हुनुको अभिमान सँगै लिएर मर्छु ।
सदियौं देखी सहिरहेछु सास्ती अझै
बारबार हेमलकको प्याला पिईरहेछु ।
असत्यका भक्तहरुका बीचमा
ढोङ्गीको जीवन जिईरहेछु ।।
मेरो सत्यले
तिम्रो शक्ति डगमगाउँछ !
मेरै डरले तिमी
चाबुक हिर्काउँछौ मलाई !!
अनि आफ्नै पाप पखाल्न
शूलीमा चढाउँछौ मलाई !!!
तिम्रो थामिएको श्वास खोल्न
छातीमा गोली म थाप्छु ।
तिमीलाई जकड्ने पासो फुकाल्न
गलामा फाँसी म अल्झाउँछु ।
तिम्रै मुक्तिका लागी बाँधिन्छु म ।
फेरी पनि तिमी मलाई नै थुन्छौ
शहिदगेटका चार दिवारभित्र !
तिम्रो स्वतन्त्रता बचाउन
कहिले नजरबन्द राखिन्छु …
तिम्रो स्वाधिनता जोगाउन
कहिले निर्वासनमा पर्छु …
तैपनि,
म निष्कलङ्क हुनुको
ठोस प्रमाण कहिल्यै जुटेन ।
मलाई निसाफ दिलाउन
कसैले मुद्दा लडेन ।।







डिसी नेपाल








Facebook Comment