मैदानमै झगडा गर्ने मनाङ र मच्छिन्द्रका ६ खेलाडी प्रतिबन्धमा, दुबै क्लवलाई ५० हजार जरिवाना

डिसी नेपाल
२४ पुष २०७६ १९:३२

काठमाडौं । खेल सकिएपछि मैदानमै झगडा गर्ने मनाङ मर्स्याङदी क्लव र मच्छिन्द्रका तीन तीन खेलाडी प्रतिबन्धमा परेका छन । जसमा मनाङका जगजित श्रेष्ठ र अशोक बराल ५ खेलको प्रतिबन्धमा परेका छन भने मनाङकै रञ्जन विष्ट, मच्छिन्द्रका दिपक राई, देवेन्द्र तामाङ तथा विजय धिमाल दुई खेलको प्रतिबन्धमा परेका छन ।

मनाङ र मच्छिन्द्र विचको खेलमा यी दुई टिमका खेलाडीबिच झगडा हुँदा त्यसको कारवाही स्वरुप अखिल नेपाल फुटबल संघले प्रतिबन्ध लगाएको हो । यसका साथै जगजित श्रेष्ठलाई १० हजार रुपैयाँ पनि जरिवाना लगाएको छ । सो खेलमा रातो कार्ड पाएको अशोकले अब लिगमा ६ खेल गुमाउने भएका छन । उनी रातो कार्ड पाएका कारण त्यसैपनि नियम अनुसार एक खेल गुमाउने थिए ।

एन्फाको अनुशासन कमिटीले विहिबार दुबै क्लवका दोशी खेलाडीलाई कारवाही गर्ने निर्णय गरेको हो । लिगको पाँचौ चरणको खेलमा खेल सकिएपछि दुबै टिमका खेलाडी झगडामा उत्रिएका थिए । जसका कारण झगडा साम्यपार्न पुलिस नै मैदानमा प्रवेश गर्नुपरेको थियो ।

यसका साथै मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ । यसका साथै उनलाई पनि १० हजार रुपैयाँ जरिवाना लगाएको छ । दुबै क्लवलाई एन्फाको अनुशासन कमिटीले ५०–५० हजार जरिवाना लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.