म्याथ्यु वेड विवादास्पद तरिकाले क्याच आउट भएपछि आइसीसीको नियममा प्रश्न (भिडियो)

डिसी नेपाल
२५ पुष २०७६ १२:३०

काठमाडौं। अस्ट्रेलियाको टि–२० प्रतियोगिता बिग बाश लिगमा बिहीबार होबार्ट हरिकेन्सका कप्ता म्याथ्यु वेड विवादास्पद तरिकाले क्याच आउट भए । ब्रिस्बेन हीटका खेलाडी म्याट रेन्शो ले मैदानभित्रै बल क्याच गरे तर सन्तुलन बिग्रिएर आफू बाउण्ड्रीबाहिर हुत्तिन थालेपछि उनले बल माथि फालेर आफू बाउण्ड्रीबाहिर गए । हावामै रहेको बल बाउण्ड्रीबाहिर खस्ने देखिएपछि रेन्शोले फेरि उफ्रिएर बललाई हानेर अलि भित्र फाले जसलाई अर्का खेलाडी टम बेन्टनले क्याच गरे ।

अम्पायरले वेडलाई आउट दिएपछि सामाजिक संजालमा आइसीसीको नियममाथि प्रश्न उठिरहेका छन् । वेड ४५ बलमा ६१ रन बनाएर खेलिरहेका थिए । उनले १५ औं ओभरको चौथो बलमा छक्काको लागि हानेको बल रेन्शोले दुई पटक फ्याँकेपछि बेन्टनले क्याच गरेका थिए । तेस्रो अम्पायरको फैसला भन्दा पहिल्यै वेडले क्रिज छाडिसकेका थिए ।

वेडले भने ‘मलाई नियमको गहिरो जानकारी छैन । एकपटक जब फिल्डर बाउण्ड्रीबाहिर गएपछि उसलाई बल छुने अधिकार छ कि छैन भन्ने मलाई थाहा छैन । अम्यापरले फिल्डरलाई यस्तो अधिकार भएको बताएपछि मैले बुझें म आउट भइसकेको छु ।’ क्रिकेटका नियमको संरक्षक मेरिलेबोन क्रिकेट क्लवले ट्वीट गर्दै भनेको छ ‘नियम १९.५ का अनुसार यो क्याचलाई वैध मानिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.