मत्थर हुँदै इरान–अमेरिका तनाव
काठमाडौं । इरान र अमेरिकाबीच अघिल्लो हप्ता चिर्किएको तनाव विस्तारै कम हुँदै गएको छ । यही पुस १८ गते बिहानै इराकस्थित बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकाले इरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच बढेको तनाव विस्तारै कम हुँदै गएको हो ।
इरानी कुद्स फोर्सका प्रमुख सुलेमानीको हत्याको बदला लिने भन्दै गएको मंगलबार इरानले इराकस्थित अमेरिकी दूतावास र अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण गरेपछि मध्यपूर्वमा युद्धकै जस्तो वातावरण बनेको थियो । तर, अमेरिकाले त्यसको जवाफी कारबाही भने गरे । त्यसपछि इरानले बुधबार पनि इराकस्थित अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । यो पटक पनि अमेरिकाले कुनै उत्तेजक प्रतिक्रिया दिएन । बरु गएको बिहीबार वाशिङ्टनस्थित राष्ट्रपति भवन ह्वाइट हाउसबाट सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शान्ति वार्ताका लागि तयार रहेको बताएपछि इरान–अमेरिका तनाव कम हुँदै गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले विश्लेषण गरेका छन् ।
इरानी सर्वोच्च नेता अयोतुल्ला अली खामेनीले बदला लिने भन्दै इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा लगातार क्षेप्यास्त्र आक्रमण गरिएपछि मध्यपूर्वमा युद्ध चर्किने जोखिम बढेको थियो । तर, अन्तर्राष्ट्रिय समूदायको व्यापक चासो बढेको थियो । राष्ट्र संघीय महासचिब एन्टोनियो गुरुरेट्सले दुबै पक्षलाई शान्त रहन भन्दै अपील गरेका थिए । उनले मध्यपूर्वमा युद्ध भए त्यसलाई थेग्न सक्ने ताकत संसारमा नभएको भन्दै यो गम्भीर विषयमा सबैले मिलेर वार्ताबाटै समस्या समधान गर्नुपर्ने बताएका थिए । यस्तै यूरोपेली युनियन, जापान, बेलायत र जर्मनीले पनि शान्तिको आव्हान गरेका थिए । राष्ट्रसंघीय र क्षेत्रीय संगठनहरुले शान्तिको आव्हान गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युद्ध नचाहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
त्यसो त इरानी सैन्य कमाण्डर मारिएपछि अमेरिकालाई मध्यपूर्वमा युद्धमा धकेलेको भन्दै ट्रम्पको अमेरिकामै विरोध भइरहेको छ । अमेरिकी कंग्रेसको तल्लो सदनले त राष्ट्रपतिको युद्ध अधिकार कटौती गर्ने एक प्रस्ताव नै पारित गरेको छ । विपक्षी डेमोक्र्याटहरुको बहुमत रहेको तल्लो सदनमा पारित प्रस्ताव प्रतिकात्मक भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । सो प्रस्ताव माथिल्लो सदन सिनेटमा पारित हुने सम्भावना भने कम छ । किनकी सिनेटमा सत्तारुढ रिपब्लिकनको बहुमत छ । तर, पनि अमेरिकाका विभिन्न शहरमा शान्तिका लागि भन्दै प्रदर्शन हुनु र सदनमै प्रस्ताव पारित हुनुले ट्रम्प दबाबमा परेको बताइन्छ ।
उता इरान पनि अमेरिकासँग सिधा युद्ध गर्न सक्ने अवस्थामा नरहेकाले आफ्ना सैन्य कमाण्डर मारिएपछि इरानी जनतामा देखिएको आक्रोश मत्थर पार्नमात्र सांकेतिक आक्रमण गरेको बताइएको छ । इरानले इराकस्थित अमेरिकी अखडाहरुमा गरेको आक्रमणमा कुनै क्षति भएको थिएन । इरानले आक्रमण गर्नुअघि नै आक्रमणबारे आफै जानकारी दिएकाले त्यहाँ क्षेति नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले आशंका गरेका छन् । केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले त, इरानले जानी जानी क्षति नहुने गरी आक्रमण गरेको बताएका छन् । २०१६ देखि अमेरिकी नाकाबन्दी भोगिरहेको इरानको आर्थिक अवस्था कमजोर रहेको छ । त्यसैले पनि इरानले युद्ध नचाहेको बताइन्छ । त्यतिमात्र होइन सामरिक दृष्टिकोणले पनि इरान अमेरिकाभन्दा कमजोर रहेको छ । त्यसैले इरानले पनि सिधा युद्ध नचाहेकाले पछिल्ला दिनहरुमा कुनै उत्तेजक घटनाहरु नभएको बताइएको छ ।
यसैबीच पाकिस्तान र भारतले अमेरिका र इरानबीच शान्ति वार्ताका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेका छन् । भारतको प्रस्तावको इरानले सकरात्मक जवाफ दिएकोसमेत भारतीय सञ्चार माध्यमहरुले बताएका थिए । त्यसो त इराकले आफुसँग कुनै सम्बन्ध नभए पनि बिनाकारण युद्ध भूमि बनाइएको भन्दै विरोध जनाएको थियो । इराकले अमेरिकी सेनालाई आफ्नो देश छोड्न भनेकाले पनि मध्यपूर्वमा अमेरिका कमजोर हुने आकल हुँदा अमेरिकाले कुनै जवाफी कारबाही नगरेको बताइन्छ । (एजेन्सीहरुको सहयोगमा)







डिसी नेपाल








Facebook Comment