पत्रकारको परिक्षा वादविवाद : आवश्यक छैन–प्रतिपक्ष, स्ट्याण्डर कायम राख्न हो–सत्तापक्ष

डिसी नेपाल
१४ माघ २०७६ १८:४७
4
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई दिनुपर्ने बताएका छन् । दक्षिण एसियाका कुनै पनि देशमा यो अभ्यास नभएको र अहिले नेपालमा यस्तो अभ्यासनको आवश्यकता नरहेको उनले बताए ।

‘पाठक, दर्शक र स्रोतालाई नै छुट दिनुपर्छ । कुन पत्रकारले कस्तो कुरा गर्दैछ भन्ने कुरा पाठकलाई किन नछोड्ने ? यो अनुपयुक्त कुरामा हामीले अभ्यास गरिरहेका छौँ । जुन कुरा साउथ एसिया, बेलायत, अमेरिका कुनै पनि देशम छैन् । हरेक कुराको परीक्षण हामीले किन गर्ने ? राष्ट्रियसभाबाट यो पास हुने अवस्था छ तर हामी विरोध गर्छौँ’, उनले भने ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद दिनानाथ शर्माले पत्रकारहरुको ‘स्ट्याण्डर’ कायम राख्नका लागि यो प्रावधान ल्याइएको बताए। पत्रकारको पहिचान र स्ट्याण्डर कायम होस भन्ने हिसाबले यो प्रावधान राखिएको उल्लेख गर्दै उनले यो उपयुक्त र राम्रो भएको बताए ।

विधेयकका विषयमा पहिले पनि धेरै प्रश्नहरु उठेको सन्दर्भ उल्लेख गर्दै उनले प्रश्न उठाउनेहरुको इज्जत माथि उठाउने गरी यो व्यवस्था गरिएको बताउनुभयो । ‘जसरी पहिले धेरै प्रश्न उठे विवाद भयो । प्रश्न उठाउनेहरुको चित्त प्रशन्न हुने गरी, इज्जत माथि उठाउने गरी यो व्यवस्था गरिएको हो । यसले उहाँहरुको स्ट्याण्डर कायम गनर्छ’, उनले भने ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट राष्ट्रिसभामा प्रतिनिधित्व गरिरहेका बृखेशचन्द्र लालले पत्रकारीतालाई कुनै घेराभित्र राख्न नहुने बताए । विधेयक स्वस्थ र मर्यादित पत्रकारिता बनाउनका लागि आएको भएपनि लाइसेन्स लिनुपर्ने प्रवधान राख्न नहुने धारणा उनले राखे ।

उनले भने, ‘आचारसंहिताको पालना हामीले गर्नुपर्छ भन्ने मुल कुरा हो । तर यसमा लाइसेन्सको कुराले अलिकति अफ्ठ्यारो हुन सक्छ । पत्रकारीतालाई एउटा सीमा भित्र नियन्त्रण गर्ने प्रयास भए जस्तो लाग्छ । यसमा राजपा र कांग्रेसले आफ्नो धारणा राखिसकेको छ ।’

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पत्रकारीता क्षेत्रमा प्रवेश गर्ने नयाँ व्यक्तिले लाइसेन्स लिनुपर्ने प्रावधान विधेयक पारित गरेपछि यसको विरोध भइरहेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले समेत यस्तो व्यवस्था उपयुक्त नहुने बताउँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.