प्रजातन्त्र सेनानीको योगदान बिर्सिदै गएकोमा चिन्ता
काठमडौं । प्रजातन्त्रका लागि लड्ने योद्धाको उचित सम्मान हुन नसकेकामा नेताहरुले गुनासो गरेका छन् । आन्दोलनका बेलामा खोजीने प्रजातन्त्र सेनानीलाई नेपाली काँग्रेसले सत्तामा गएपछि बिर्सने गरेको सेनानी संघमा आबद्ध नेता कार्यकर्ताको गुनासो थियो ।
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मंगलबार आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ काठमाडौँको भेलालाई सम्बोधन गर्दै पार्टीले लामो आन्तरिक विवाद र वहसपछि पार्टीको १४ औं महाधिवेशनको मितिमा सहमति भएको बताए ।
पार्टीले अब सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको काम प्रारम्भ गर्ने जानकारी पनि उनले दिए। पार्टी भित्र भएका वेथिति र विधान विपरीतका कामको डटेर विरोध गर्दा विभाजन गर्न खोज्यो भनेर आरोप लगाउनुको कुनै औचित्य नहुने उनको भनाइ थियो । पार्टी सही तरीकासँग चल्न नसकेका कारण काँग्रेसले सडक र संसद दुवै मोर्चाबाट सरकारले गरेका भ्रष्टाचार र प्रजातन्त्र विरूद्धका कदम रोक्न भूमिका निर्वाह गर्न नसकेको बताए।
नेपाली काँग्रेस जिल्ला काठमाडौंका सभापति कृष्ण सबुज वानियाँले पार्टीको साखलाई माथि उठाउन आउँदो महाधिवेशनमा पार्टीका सबै निकाय र भ्रातृ संस्था विशेष सजग हुनुपर्ने बताए। काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलले प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने योद्धाको समुचित कदर हुन नसकेकोमा दुःख व्यक्त गरे।
काँग्रेस नेता लोकेश ढकालले पार्टीमा नीति, नारा र नेतृत्व सही नभएकोले आउँदो १४ औं महाधिवेशनले तीन वटै विषय परिवर्तन गर्न अपरिहार्य भएको बताए ।
सेनानी संघ काठमाडौँका सभापति प्रजातन्त्र सेनानी गोविन्दप्रसाद गजुरेल, संघका केन्द्रीय प्रवक्ता बालकृष्ण दाहाल, संविधानसभा सदस्य दीपकप्रसाद कुँइकेल, नेपाल महिला सङ्घ काठमाडौं जिल्ला सभापति विष्णुदेवी पुडासैनी, प्रजातन्त्र सेनानी कमला शर्मा राई, काँग्रेस, जिल्ला कार्य समितिका सचिव शङ्कर मल्ल ठकुरी लगायतले प्रजातन्त्रका लागि लड्ने योद्धाको उचित सम्मान हुनुपर्नेमा जोड दिएका थिए । भेलाले गजुरेलको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ जिल्ला समितिको गठन गरेको छ







डिसी नेपाल







Facebook Comment