व्यक्तिगत प्यान लिनको संख्या १८ लाख, एक वर्षमै दोब्बर

डिसी नेपाल
१७ माघ २०७६ १४:३०

काठमाडौं। स्थायी लेखा (प्यान) नम्बर लिनेको संख्या एक वर्षमै दोब्बर भएको छ। सरकारले एक हजार रुपैयाँ भन्दा बढीको भुक्तानीमा प्यान अनिवार्य गरेपछि कर कार्यालयबाट प्यान लिनेको संख्या बढेको हो।

आन्तरिक राजश्व विभागका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा १८ लाख सर्वसाधारणले व्यक्तिगत प्यान नम्बर लिएका छन्। जवकी अघिल्लो आवको यसै अवधिसम्ममा प्यान लिनेको संख्या ९ लाख ९३ हजार रहेको थियो।

सरकारले सबै कारोबारलाई करको दायरामा ल्याउनका लागि चालु आवको बजेटमा एक हजार रुपैयाँ भन्दा बढिको भुक्तानी दिन अनिवार्य रुपमा प्यान नम्बर हुनुपर्ने घोषणा गरेको थियो।

जसअनुसार कुनै पनि कम्पनी तथा संस्थाहरुमा काम र सेवा गरी तलबभत्ता, ज्याला लिने सम्पूर्णले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ। प्यान विमा गरिएको भुक्तानी खर्चका रुपमा लेख्न नपाउने व्यवस्था गरिएको छ।

अहिले राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाबाट ऋण दिनका लागि देखाइने आयस्रोतमा करचुक्ता अनिवार्य गरेको छ। सरकारले करको दायरा विस्तार गर्दै गएपछि प्यान नम्बर लिने, कर चुक्ता गरेर प्रमाणपत्र लिने सर्वसाधाणको संख्या वृद्धि हुदै गएको राजश्व विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.