लन्डनमा अन्धाधुन्ध चक्कु चलाउने युवक आतंकवादी भएको दावी

डिसी नेपाल
२० माघ २०७६ २२:२०

लन्डन (एजेन्सी) । दक्षिणी लन्डनमा आइतवार दिउँसो मानिसहरूलाई अन्धाधुन्ध चक्कु हान्ने एक पुरुषको प्रहरी कारबाहीमा मृत्यु भएको छ । सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए । आतंकवादसम्बन्धी अभियोगमा जेल परेका उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको थियो । आधा सजाय भोगेपछि उनी मुक्त भएका थिए ।

जेलबाट छुटेपछि अम्मान प्रहरीको सक्रिय निगरानीमा थिए । तर उनले दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्न भ्याए । उनको शरीरमा कुनै उपकरणजस्तै देखिने नक्कली वस्तु टाँसिएको प्रहरीले जनाएको छ । आक्रमणमा तीन जना घाइते भए । तीमध्ये एक जना जीवन जोखिममा हुने खालको अवस्थामा भएको बताइएको छ । प्रहरीले प्रहार गरेको गोली लागेर ती आक्रमणकारीको मृत्यु भयो ।प्रहरीले घटनालाई इस्लामिक अतिवादसँग जोडिएको आतंकवादी आक्रमण भनेको छ । विवरणहरूका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे । त्यसपछि उनले बाहिर निस्किएर एक महिलालाई पनि आक्रमण गरेको देखिन्छ ।

सशस्त्र प्रहरीहरू उक्त स्थलतिर आएर मानिसहरूलाई पछि सर्न भनेपछि प्रत्यक्षदर्शीहरूले तीन चोटि गोली चलेको सुनेको र एक व्यक्ति बूट्स फार्मेसीबाहिर लडिरहेको देखेको बताएका छन् । उक्त घटनापछि प्रधानमन्त्री बोरिस जोनसनले आतंकवादसम्बन्धी मुद्दामा सजाय खेपिरहेका व्यक्तिहरूसँग गरिने व्यवहारबारे सोमवार सरकारले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन् । उनले भनेका छन्, ‘आतंकवाददप्रति गरिने व्यवहारबारे सरकारले तत्काल नयाँ व्यवस्था गर्नेछ ।’ त्यसमा लामो जेल सजाय र प्रहरीलाई थप बजेट विनियोजन गर्ने विषय पनि हुनेछन् । गत नोभेम्बर महिनामा पनि लन्डन ब्रिजनजिकै आतंकवादको घटनामा दोषी ठहर भएका एक व्यक्तिले चक्कु प्रहार गरेर दुई जनाको ज्यान गएको थियो । उनी पनि समेत आधा सजाय भोगेर जेलबाट छुटेका थिए । उनको पनि प्रहरी कारबाहीमा मृत्यु भएको थियो ।

एकपछि अर्को गरी भएका यी घटनाका कारण सरकारभित्रै छिटो काम गर्ने जागरुकता देखिएको बीबीसी संवाददाता बताउँछन् । प्रधानमन्त्री जोनसनले तत्काल कारबाही गरेको भन्दै प्रहरीको बहादुरीको प्रशंसा गरेका छन् । आक्रमणकारीको नाम सुदेश अम्मान भएको प्रहरीले बताएको छ । उनले नोभेम्बर २०१८ मा आतंकवादी सूचना भएका कागजपत्र आफूसँग भएका छवटा र आतंकवादसम्बन्धी प्रकाशित सामग्री वितरण गरेका सातवटा अभियोगहरू स्वीकार गरेको बीबीसी संवाददाता ड्यान्यल डि सिमोन बताउँछन् । एटा आतंककारी आक्रमणको योजना बनाएको आशंकामा उनलाई सर्वप्रथम मे २०१८ मा उत्तरी लन्डनबाट पक्राउ गरिएको थियो ।

सन्देश आदानप्रदान गर्ने एप टेलिग्राममा प्रेषित सामग्रीका कारण सोही वर्ष एप्रिल महिनामाउनी प्रतिआतंकवाद हेर्ने प्रहरीको दृष्टिमा परेका थिए ।

ड्यान्यन डि सिमिनका अनुसार टेलिग्राममा प्रेषित एउटा तस्बिरमा एउटा चक्कु र दुईवटा बन्दुकका चित्र तथा अरबी भाषामा ‘शस्त्रसहित अप्रिल ३ का लागि तयार’ अर्थ लाग्ने शब्द अंकित इस्लामिक झण्डा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.