कुखुराको मासुकाे मूल्य बढ्यो : ‘भिलेन’ को ?

डिसी नेपाल
२२ माघ २०७६ ११:४३

काठमाडौं। अहिले बजारमा कुखुराको मासुको मूल्य अकाशिएको छ। कुखुको मासुको खुद्रा मूल्य बजारमा ४ सय नाघेको छ। यसरी मूल्य अकाशिएपछि उपभोक्ता मारमा परेका छन्। भान्सामा मासु नपाक्ने अवस्था आएको छ। यसरी मूल्य किन बढ्यो? सरोकारवालाका आ आफ्नै जिकिर छन्।

मूल्य बढ्नुको मुख्य कारण यो मौसममा कुखुराको उत्पादन कम हुनु हो। उत्पादन कम हुनुको कारण, ह्याचरी, कुखुरा उत्पादक व्यवसायी, बिचौलिया र सरकारी नीति हो।

चिसो मौसममा कुखुराको उत्पादान सामान्यतया कम हुन्छ। तर, यो पटक मागभन्दा आधामात्र उत्पादन हुँदा मूल्य ४ सय रुपैयाँ प्रतिकेजी पुगेको हो।
यसरी उत्पादन कम हुनुको कारण ह्याचरी र कुखुरा उत्पादक व्यवसायी जिम्मेवार छन्।ह्याचरी उद्योगले पछिल्लो ३ महिना यता करिब ३० लाख चल्ला नष्ट गरेकाले यो समयमा मासु उत्पादन घटेको हो।

तर, ह्याचरी संघ भने यो तथ्य स्वीकार गर्न तयार छैन। संघका अध्यक्ष टीकाराम पोखरेलले डिसी नेपालसँग भने, ‘त्यो चल्ला नष्ट गरेकाले मूल्य बढ्यो भन्नु गलत हो। त्यो नष्ट गरेको ३ महिना पहिला हो। अहिले त्यो सेटल भइसकेको छ। किसानले नै चल्ला नहालेपछि उत्पादन कम भएको, त्यसैले मूल्य बढेको हो।’

‘त्यो चल्ला नष्ट गरेकाले मूल्य बढ्यो भन्नु गलत हो। त्यो नष्ट गरेको ३ महिना पहिला हो। अहिले त्यो सेटल भइसकेको छ। किसानले नै चल्ला नहालेपछि उत्पादन कम भएको, त्यसैले मूल्य बढेको हो।

ह्याचरीको तर्कमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय भने सहमत छैन। मन्त्रालयका प्रवक्ता डा. हरीबहादुर केसीले डिसी नेपालसँग भने, ‘यो मूल्य बढ्नुको कारण ह्याचरीले चल्ला नष्ट गरेकाले हो। उनीहरुले नष्ट गरेको चल्ला यतिबेला तयार हुनु थियो। कुखुरा उत्पादन बढेको भए, यसरी मूल्य बढ्दैनथ्यो।’

तर, किसानका पनि आफ्नै पीडा छन्। किसान घाटामा गएपछि यो मौसममा कुखुरा नहालेको बताउँछन्। नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष भोजराज दाहाल भन्छन्, ‘किसानहरु घाटामा गएकाले यो पटक कुखुरा हालेनन्। जसले गर्दा उत्पादन घट्यो। उत्पादन घट्दा मूल्य बढ्यो। यो बेला कुखुरा हालेका किसान फाइदामा जान्छन्।’

यसरी कुखुराको मासुको मूल्य बढ्नुको गोलचक्करमा किसानले भने वास्ताविक फाइदा लिन सकेका छैनन्। हाल जिउँदो कुखुराको मूल्य किसानले २६० रुपैयाँ प्रतिकेजी तोकेका छन्। र खुद्रा मूल्य अधिकतम ३७० हुनुपर्ने हो। तर, बजारमा खुद्रा मूल्य भने ४ सय नाघेको छ। यसरी बिचौलियाले पनि उपभोक्तालाई लुटिरहेका छन्।

काठमाडौंमा हप्तामा ८० देखि ८५ लाख केजी कुखुराको मासु माग छ। नेपाली किसानले ७० देखि ८० केजी उत्पादन गर्छन्। अपुग मासु भारतलगायतका देशबाट आयात गरिन्छ। नेपाल कुखुराको मासुमा लगभग आत्मनिर्भर भए पनि किसान र उपभोक्ता दुबै मर्कामा पर्नुमा सरकारी नीति कमजोर मान्छन् नेपाल कुखुरा पालक संघका अध्यक्ष भोजराज दाहाल।

उनले भने, ‘सरकारले यो व्यवसायलाई नजरअन्दाज गरिरहेको छ। हामीले लगानीअनुसार प्रतिफल पाउन सकेका छैनौं। सरकारले अनुदान, सहुलियत ऋण र बजारलाई नियन्त्रण गरेको भए, सबैलाई फाइदा हुन्थ्यो। हामीले नयाँ कृषिमन्त्री आउनासाथ आफ्ना कुरा राखिरहेका छौं। तर, सुनुवाई भएको छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.