बालविवाहविरुद्धको चारमहिने सञ्चार अभियान सुरु…
काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा बिहीबारबाट बालविवाहविरुद्धको चारमहिने सञ्चार अभियान सुरु भएको छ । सञ्चार अभियान अन्तर्गत देशका ७७ वटै जिल्लाका सामुदायिक रेडियोमार्फत १५ हजारभन्दा बढी व्यक्तिहरूको बाल विवाहविरुद्धको प्रतिबद्धता सङ्कलन गरिने अकोराबका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए । यस अभियानमा प्रदेशस्तरीय छलफल कार्यक्रम पनि गरिनेछ । वल्र्डभिजन इन्टरनेश्नल नेपालसँगको सहकार्यमा अकोराबले बालविवाहविरुद्धको अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत बिहीबार बिभिन्न धर्मगुरू तथा अभियन्ताहरूसँग छलफल गरिएको छ । छलफलमा भाग लिँदै उनीहरूले धर्मग्रन्थले बालविवाहलाई मान्यता नदिएको बताएका छन् । हिन्दु धर्मका अगुवा रामचन्द्र भण्डारीले हिन्दु धर्मग्रन्थमा बालविवाहलाई उत्प्रेरणा दिने काम नगरेको दाबी गरे । धर्मग्रन्थले बालविवाहलाई टेवा पु¥याएको भन्ने गलत प्रचार भइरहेकाले उनले विद्धानलाई बोलाएर खुला बहस गर्न जरुरी रहेको आँैल्याउ । उनले हिन्दुको धर्मग्रन्थ मनुस्मृतिमा पनि २५ वर्षपछि मात्रै गृहस्थाश्रममा प्रवेश गरी विवाह गर्ने कुरा उल्लेख भएको बताए ।
त्यसैले यस्ता राम्रा कुरा पनि बाहिर ल्याउन जरुरी रहेको उनको भनाइ छ । बौद्ध धर्मका अगुवा डाक्टर आनन्द भिक्षुले धर्ममा कहीँकतै बालबालिकाको अधिकार हनन हुनेगरी विश्लेषण गरिएको भए यसलाई संशोधन गर्न जरुरी रहेको बताए । उनले धार्मिक गुरूले नै धर्ममा रहेका बालविवाहको पक्षविपक्षका कुरा सार्वजनिक गर्नुपर्ने र विपक्षका कुरा संशोधन गर्ने बाटोतिर लाग्नुपर्ने धारणा राखे । जीवन जिउने कलाका रूपमा रहेको धर्मले कुनै पनि कारणले अफ्ट्यारो पार्न नहुने उनको तर्क छ ।
क्रिश्चिियन धर्मका अगुवा इशुजङ्ग कार्कीले बाइबलमा नै विवाह आदरणीय हुनुपर्छ भनेको टिप्पणी गरे । उनले कृश्चियन धर्मावलम्बीले प्रवचनको माध्यमबाट पनि बालविवाह बारे चेतना बिस्तार गर्नुपर्नेमा जोड दिए । मुस्लिम महिला कल्याण समितिका अध्यक्ष सीमा खानले इस्लाम धर्ममा विवाह गर्ने कुनै उमेर नतोकिएको दाबी गरिन् । उनले शारीरिक र मानसिक रूपमा सक्षम भएको हुनुपर्ने र केटाले जिम्मेवारी सम्हाल्न सक्नेभएमा विवाह गर्न सक्ने कुरा इस्लाम धर्मग्रन्थमा उल्लेख भएको जानकारी दिइन् ।
कार्यक्रममा मर्यादित महिनावारीका अभियन्ता राधा पौडेलले अहिलेसम्म बालविवाह गर्नका लागि घरपरिवारले धकेल्ने काम भइरहेको र समाजले तान्ने काम गरिरहेको धारणा राखिन् । उनले घरबाटै महिलाले क्रान्ति सुरु गर्नुपर्ने र त्यसमा परिवारले साथ दिनुपर्नेमा जोड दिइन् ।
वल्र्डभिजन इन्टरनेश्नल नेपालका पब्लिक इङ्गेजमेन्ट निर्देशक पुस्कर खातीले कानुनी आँखाले हेरेर मात्र बालविवाह अन्त्य गर्न नसकिने बताए । यसका लागि बहुआयामिक क्षेत्रबाट सोच्नुपर्ने उनको भनाइ थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रमुख अञ्जु ढुङ्गानाले सरकारले बालविवाह विरुद्ध १० वर्षे रणनीति कार्ययोजना तयार गरेर अघि बढेको बताइन् । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत कुरीति विरुद्धको सामाजिक अभियान पनि सरकारले सञ्चालन गर्ने तयारी गरेको उनले बताइन् । उनले यो कार्यक्रम सातवटै प्रदेशमा जाने र प्रदेशगत हिसावले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन हुने जानकारी दिइन् । उनले बालविवाह गरे गराएमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरीवानाको कानुनी व्यवस्था रहेको पनि स्मरण गराइन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष सुवास खतिवडाले धर्मले बालविवाहलाई निषेध नै गर्छ भनेर जनमानसमा पु¥याउन जरुरी रहेको बताए । धर्मलाई हतियार बनाएर यसको दुरुपयोग भइरहेकाले यसलाई रोक्न धर्मगुरूको महत्वपूर्ण भूमिका रहने टिप्पणी गरेका थिए ।







डिसी नेपाल








Facebook Comment