अमेरिकी चुनावः न्यू ह्याम्पसायरमा बर्नी स्यान्डर्सको जित, दुई जनाले फिर्ता लिए उम्मेदवारी
म्यान्चेस्टर, संयुक्तराज्य अमेरिका । अमेरिकी नेटवर्कको मतसर्वेक्षण अनुमान अनुसार मङ्गलबार न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राथमिक (प्राइमरी) चुनावमा बर्नी स्यान्डर्स विजयी भएका छन् ।
पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवं पूर्व उपराष्ट्रपति जो बाइडेन लगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौल खडा भएको छ ।
अधिकाँश मतगणना भइसक्दा पार्टीमा प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सले २६ प्रतिशत मत प्राप्त गरेका छन् । यही राज्यमा स्यान्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित गरेका थिए ।
एनबीसी र एबीसीले आफ्नो पक्षमा नतिजा आएको बताएलगत्तै स्यान्डर्सले उत्साहित समर्थकहरूलाई सम्बोधन गर्दै भने, “न्यू ह्याम्पसायरका जनतालाई ठूलो जितका लागि धन्यवाद दिन चाहन्छु।”
“यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको शुरुवात हो,” छिमेकी राज्य भर्मोन्टका सिनेटर स्यान्डर्सले भने । उनले न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारका कार्यलाई अब कसैले रोक्न नसक्ने बताए ।
दोस्रो स्थानमा रहनु भएका इण्डियाना राज्यका पूर्व मेयर पीट बुटिगीगले २४ प्रतिशत मत पाउने अनुमान गरिएको छ । उनी आगामी अझ कठिन राज्यहरुमा पनि चुनावी मैदानमा स्यान्डर्ससँग भिड्ने योजनामा छन् ।
“अब हाम्रो अभियान नेभाडा, दक्षिण क्यारोलिना हुँदै देशका कुनाकाप्चासम्म विस्तार हुनेछ । र हामी हरेक चरणमा नयाँ सहयोगीहरुलाई स्वागत गर्नेछौं,” स्यान्डर्सले भने ।
उदारवादी सोचकी सिनेटर एमी क्लोबुचर २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । सिनेटर एलिजाबेथ वारेन करिब ९ प्रतिशत मतका साथ चौथो स्थानमा छन् ।
ट्रम्पले व्यङ्ग्य मिश्रित ट्वीट गर्दै भन्नुभएको छ, “बुटिगीगले आज राति राम्रै नतिजा ल्याए। बर्नीको पागलपनलाई बुटिगीगले चुनौती दिँदैछन् । धेरै चाखलाग्दो ।”
बाइडेनलाई न्यु ह्याम्पसायरबाट पर्याप्त मत प्राप्त नहुने पहिल्यै अनुमान गरिएको थियो । आयोवामा पनि उनको हालत यस्तै थियो । पूर्व उपराष्ट्रपति बाइडेनका लागि ८ प्रतिशतको हाराहारीमा मात्र मत प्राप्त हुनु निकै निराशाजनक स्थिति हो ।
चन्दा संकलनमा समेत निकै पछि परेका बाइडेनका लागि चुनाव परिचालन अहिले फलामको च्यूरा सरह भएको छ ।
राष्ट्रपतिको उम्मेदवारको टिकट प्राप्त गर्नेतर्फ उहाँको प्रयास निकै कमजोर हुनुका साथै समर्थकमा उत्साह सिर्जना गर्न असफल देखिएको छ।
प्रविधि उद्यमी एन्ड्र्यू याङ र कोलोराडो सिनेटका माइकल बेनेटले राष्ट्रपतिको दौड परित्याग गरेको घोषणा गरेका छन्।
“तपाईंलाई थाहा छ म गणितको विद्यार्थी हुँ, र ह्याम्पसायरको मतसंख्याबाट यो स्पष्ट छ कि हामी यो दौड जित्न सक्दैनौं,” आफ्ना समर्थकलाई सम्बोधन गर्दै याङले भने ।
७८ वर्षीय स्यान्डर्सले न्यु ह्याम्पसायरको प्राथमिक चुनाव जित्ने पहिल्यै अड्कलबाजी गरिएको थियो, तर बुटिगीगले यति कडा चुनौती देलान् भन्ने अनुमान गरिएको थिएन।
बुटिगीगको चुनावी अभियान दलका सदस्यहरु न्यु ह्याम्पसायरको नतिजाबाट निकै उत्साहित भएका छन्। आयोवामा बुटिगीगले झिनो मतान्तरमा स्यान्डर्सलाई पराजित गरको थिए ।
राष्ट्रिय सर्वेक्षणमा स्यान्डर्सको तुलनामा बुटिगीग १० प्रतिशतले पछि रहेको देखिएको छ । आगामी दिनमा विविधतापूर्ण जनसंख्या रहेका राज्यहरु रहेका र त्यहाँ अफ्रिकी–अमेरिकीको जनसंख्या पनि कम छ ।
पूर्व उपराष्ट्रपति बाइडेनको समूहमा रहेका अर्बपति व्यापारी एवं न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग पनि मार्च ३ मा हुने अर्को प्राथमिक चुनावमा सहभागी हुने तयारीमा छन् ।
पहिलो चारवटा राज्यमा चुनावी प्रतिस्पर्धामा नरहेका ब्लुमबर्ग मार्च ३ को “सुपर ट्युज्डे” को मतदानमा सहभागी हुनेछन् । यो दिन देशका १४ वटा राज्यमा एकै दिन प्राथमिक चुनाव हुँदैछ ।
यस दिन ब्लुमबर्गले चुनावी प्रचारका लागि व्यक्तिगत करिब २६ करोड अमेरिकी डलर खर्च गर्ने योजना रहेको छ।







डिसी नेपाल








Facebook Comment