अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

डिसी नेपाल
८ फागुन २०७६ १९:२६

काठमाडौं । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलद्वारा बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा ललितपुर जिल्ला अदालत बार एकाइमा आवद्ध कानून व्यवसायी तथा बारका केन्द्रीय कार्यकारिणी सदस्य अधिवक्ता ढकाललाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश जारी गरेलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ गरिएको हुनाले थुनामुक्त गर्न माग गरिएको उल्लेख छ ।

‘कुनै पनि नागरिकलाई स्वेच्छाचारीरुपमा पक्राउ गरिनु र झुठा मुद्दा चलाइनु मुलुकमा कानूनको शासन नभएको सङ्केत हो’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संविधान कानूनअनुसार अदालतबाट थुनामुक्त गरिएको व्यक्तिलाई पुनः पटकपटक पक्राउ र थुनामा राख्ने कार्य नेपालको संविधानविपरीत छ ।’

अधिवक्ता ढकाललाई प्रहरीले यही फागुन १ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले यही फागुन ७ गते थुनामुक्त गर्न आदेश जारी गरेको थियो तर आदेश जारी गरेलगत्तै प्रहरीले पक्राउ गरी उनलाई थुनामा राखेको छ । बारले नागरिकको मौलिक तथा मानव अधिकार रक्षा गर्न र कानूनको शासन कायम राख्न सरकार र सम्बन्धित पक्ष सबैलाई आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.