प्यारासाइटले ओस्कार जितेको ट्रम्पले मन पराएनन्, हिन्दी फिल्मको तारिफ गरे
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष दक्षिण कोरियाली फिल्म प्यारासाइटले ओस्कार अवार्ड जितेको आफूलाई मन नपरेको बताएका छन् । आफ्नो चुनावी कार्यक्रममा ट्रम्पले यस्तो बताएका हुन् । उनले यस वर्षको ओस्कार अवार्ड समारोह ‘खराब’ भएको समेत टिप्पणी गरे । उनले दक्षिण कोरियासँग आफ्नो व्यापारिक सम्बन्धमा धेरै समस्या भएका बेला उनीहरुलाई नै उत्कृष्ट पुरस्कार दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
दक्षिण कोरियाली चलचित्र प्यारासाइटले यो वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । ओस्कारको ९२ वर्षको इतिहासमा गैरअंग्रेजी भाषाको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको यो पहिलो पटक हो । ट्रम्पले कोरियाली फिल्मलाई ओस्कार अवार्ड दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै गर्दा त्यो चलचित्र राम्रो छ कि छैन भन्ने आफूलाई थाहा नभएको बताए । उनले प्यारासाइटलाई ‘राम्रो चलचित्र होला तर सर्वोत्कृष्ट होइन’ भने ।
ओस्कार विजेता चलचित्रको आलोचना गर्ने ट्रम्पले बलिउड चलचित्रको भने तारिफ गरेका छन् । उनले आयुष्मान खुरानाको फिल्म शुभ मंगल ज्यादा सावधानको तारिफ गरेका हुन् । यो फिल्म समलिंगी सम्बन्धका विषयमा बनेको छ । बेलायती कार्यकर्ता पिटर टचहेलले शुभ मंगल ज्यादा सावधानसँग सम्बन्धित ट्वीट गर्दै एक बलिउडमा रोमान्टिक कमेडी रिलीज भएको बताएका थिए। पिटरको ट्वीटलाई रिट्वीट गर्दै ट्रम्पले उत्कृष्ट भनेका छन्। ‘शुभ मंगल ज्यादा सावधान’ शुक्रबार रिलिज भएको हो।







डिसी नेपाल








Facebook Comment