ट्रम्पको भारत यात्रामा धार्मिक मुद्दा महत्वपूर्ण

डिसी नेपाल
१० फागुन २०७६ २१:३९

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगामी सोमबार दक्षिण छिमेकी मुलक भारत आउँदैछन्। ट्रम्प भारतमा आउँदै गर्दा भारतमा धार्मिक अल्पसख्यंकहरु नरेन्द्र मोदी सरकारले ल्याएका कानूनविरुद्ध आन्दोलनमा छन्।

भारतमा हालै नागरिकता कानून ऐन संशोधन गरिएको छ। जसलाई सीएए भनिन्छ। सीएएको विरोधमा भारतको दिल्लीस्थित शाहिन बागमा विगत दुई महिनादेखि आन्दोलन जारी छ। ट्रम्प आउनु अगाडि नै यो आन्दोलनलाई मत्थर पार्ने भारत सरकारको प्रयास सफल हुने देखिएको छैन।

यहीबीचमा अमेरिकी अधिकारीहरुले ट्रम्पले भारतमा धार्मिक स्वतन्त्रता र अल्पसंख्यकका विषयमा कुरा गर्ने बताएको बीबीसी हिन्दीले समाचार प्रकाशित गरेको छ। बीबीसीका अनुसार ट्रम्प प्रशासनका उच्च अधिकारीहरुले मोदी र ट्रम्पबीच हुने द्विपक्षीय वार्ता तथा अहमदाबादमा हुने खुला कार्यक्रममा ट्रम्पले धार्मिक स्वतन्त्रताको मुद्दा उठाउने छन्।

अमेरिकी अधिकारीहरुले धार्मिक स्वतन्त्रताका विषयमा विश्वले भारततर्फ हेरेको भन्दै भारतीय संविधानमा पनि धामिर्क स्वतन्त्रता र धार्मिक अल्पसंख्यकको सम्मानबारे व्यवस्था गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ।

अमेरिकाको यो भनाईलाई सीएए र राष्ट्रिय नागरिकता पञ्जीकरणसँग जोडेर भारतमा चर्चा भइरहेको छ। सीएए र राष्ट्रिय नागरिकता पञ्जीकरणको भारतमा विरोध भइरहेको छ।

ट्रम्पले अर्को महत्वपूर्ण विषय भारत र पाकिस्तानको सम्बन्धका विषयमा पनि चर्चा गर्ने बीबीसीले जनाएको छ। अमेरिकी अधिकारीको हवला दिँदै बीबीसीले जनाएअनुसार ट्रम्प भारत र पाकिस्तानबीच वार्ता गराउन उत्साहित छन्। तर, पाकिस्तानका तर्फबाट पनि यसका लागि अमेरिकालाई आस्वस्त पार्नुपर्ने भनिएको छ। खास गरी पाकिस्तानले आतंकवाद विरुद्ध ठोस कदम चाल्नुपर्ने अमेरिकाको जोड छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.