उत्तर प्रदेशमा ३ हजार टन सुन भेटिएको समाचार झुटो, कसरी मिडियामा फैलियो खबर ?
काठमाडौं। भारतको उत्तर प्रदेश राज्यको सोनभद्रमा ठूलो परिमाणमा सुन भेटिएको खबर हल्ला मात्र भएको खुलेको छ । यहाँ ३ हजार टन सुन भेटिएको भन्दै भारतका सबैजसो मिडियामा आएको समाचारलाई जियोलोजिकल सर्वे अफ इण्डियाले खारेज गरेको छ । उसले सोनभद्रमा ३ हजार टन नभइ केवल १६० किलो त्यसमा पनि औसत गुणस्तरको सुन भेटिने सम्भावना भएको बताएको छ ।
यससँगै सनसनी बनेको खबर झुटो भएको खुलासा भएको छ । तर, यो खबर कसरी सबै मिडियामा फैलियो र सबैले प्राथमिकताका साथ समाचार छापे भन्ने कुरा अझै ठूलो प्रश्नको रुपमा छ । समाचार एजेन्सी आइएनएसका अनुसार यो सूचना सबैभन्दा पहिले उत्तर प्रदेशको खनन विभाग र सोनभद्रका कलेक्टरका केही पत्रहरु लिक भएपछि फैलिएको जनाएको छ ।
उत्तर प्रदेशको माइनिङ निर्देशनालयले ३१ जनवरी २०२० मा लेखेको एक पत्रमा यो जानकारी थियो । यो पत्रमा सोनभद्र जिल्लाको सोना पहाडी ब्लकमा २९४३.२६ टन र हरदी ब्लकमा ६४६.१५ किलो सुन भएको सम्भावना देखाइएको थियो । यही पत्र लिक भएपछि मिडियामा यहाँ ३ हजार टन सुन भेटिएको हल्ला फैलियो । उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव मौर्यले त यसलाई भगवानको आशीर्वाद बताउन थालिसकेका थिए । गलत सूचना भाइरल भएपछि जीएसआइको कोलकातास्थित मुख्यालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यो सूचना गलत भएको जानकारी दिएको हो ।







डिसी नेपाल








Facebook Comment