‘धुर्मुस–सुन्तली’को फिल्म हेर्न नेतादेखि कलाकारसम्म हलमा

डिसी नेपाल
१२ फागुन २०७६ १२:२७

काठमाडौं। चलचित्र ‘सेन्टी भाइरस’ले दर्शकको राम्रो साथ पाईरहेको छ। महाशिवरात्रीको अवसर पारेर शुक्रवारदेखि प्रदर्शनामा आएको चलचित्रले पहिलो र दोस्रो दिन (शुक्रबार र शनिबार) गरि २ करोड ४७ लाखको व्यापार गरेको निर्माण पक्षको दाबी छ। आईतबार पनि चलचित्र हेर्न हलमा दर्शकको उत्साहजनक सहभागीता थियो।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्रको आम्दानीको ५० प्रतिशत निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने घोषणा गरिएको छ। त्यसैले पनि चलचित्रले हलमा दर्शकको ठूलो भीड तान्न सफल भएको छ।

आईतबार राजधानीको कुमारी हलमा चलचित्रको विशेष शो आयोजना गरिएको थियो। जहाँ नेता, कलाकार तथा पत्रकारहरुले चलचित्र हेरेका छन्। जहाँ चलचित्रलाई सुःखद् प्रतिक्रिया मिलेको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, निर्वाचन आयोगका प्रमुख दिनेश थपलियादेखि कलाकार सन्तोष पन्त, केदार घिमिरे, जीतु नेपाल, पल शाह, पूजा शर्माले चलचित्र हेरेका थिए।

गायिका अञ्जु पन्त, निर्देशक सुदर्शन थापा, निर्माता सन्तोष सेन लगायत पनि चलचित्र हेर्न पुगेका थिए। साथमा ‘सेन्टी भाइरस’का कलाकारहरुको उपस्थिति थियो। चलचित्र हेरिसकेपछि अधिकांशले राम्रो प्रतिक्रिया दिए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘सेन्टी भाइरस’ले आफूलाई भरपूर मनोरञ्जन दिएको प्रतिक्रिया दिए। उनले चलचित्रले राजनीतिकर्मीहरुलाई एक किसिमको शिक्षा समेत दिने बताए। चलचित्र राम्रो बनेको बताउँदै रंगशाला निर्माणमा सहयोग गर्न पनि चलचित्र हेरिदिन दर्शकलाई आग्रह गरे। ‘तपाईले चलचित्र हेर्नाले देशले एउटा रंगशाला पाउँछ। चलचित्र हेरेर रंगशाला निर्माणमा सहयोग गर्नुहुन सबैलाई आग्रह गर्दछु’ –उनले भने।

निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले दिनप्रतिदिन भड्किलो र खर्चिलो बन्दै गएको निर्वाचनलाई चलचित्रले ठूलो व्यग्य प्रस्तुत गरेको बताए।

कलाकार सन्तोष पन्तले चलचित्रको कथा, कलाकारको अभिनय, प्रस्तुती राम्रो लागेको बताए। चलचित्र हेरुन्जेल आफूलाई बोर अनुभव नभएको सुनाए।

चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ।

चलचित्रमा ‘धुर्मुस–सुन्तली’का साथमा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सन्दीप क्षेत्री लगायतको अभिनय छ। चलचित्रको कथा कुमार कट्टेल र दीपक आचार्यले तयार पारेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.