लागूऔषध तस्करले गाँजा खेती र बिक्री गरेर कमाएको ६ अर्ब ७१ करोड रुपैयाँ हरायो

डिसी नेपाल
१३ फागुन २०७६ ११:२५

काठमाडौं। एक लागूऔषध डिलरले गाँजा खेती र बिक्री गरेर कमाएको ५ करोड ४० लाख युरो (६ अर्ब ७१ करोड नेपाली रुपैयाँ) बराबरको बिटक्वाइन हराएका छन् । उनले यो रकमको एक्सेस कोड एउटा कागजमा लेखेर आफ्नो माछा मार्ने बल्छीसँग लुकाएर राखेका थिए जो अहिले हराएको छ ।

आयरल्याण्डको राजधानी डब्लिनका ४९ वर्षका क्लिफ्टन कोलिन्सले यो बिटक्वाइनमध्ये धेरैजसो २०११ देखि २०१२ को बीचमा किनेका थिए । उनले यो बिटक्वाइन किन्न आफूले गाँजा खेती र बिक्री गरेर कमाएको पैसा प्रयोग गरेका थिए । त्यसपछिका वर्षहरुमा यो अनलाइन क्रिप्टोकरेन्सीको मूल्य बढ्दै गएको थियो ।

२०१७ सम्ममा उनीसँग एउटै खातामा ६ हजार बिटक्वाइन पुगेको थियो । त्यसपछि उनले यो रकम ह्याकरहरुले चोर्न नसकुन् भनेर १२ वटा खातामा बाँडेर राख्ने निर्णय गरेका थिए । आइरिश टाइम्सका अनुसार उनले १२ वटा खातामा प्रत्येकमा ५०० बिटक्वाइनका दरले राखेका थिए । एउटा खाताको ५०० बिटक्वाइनको मूल्य ४.५ मिलियन युरो बराबर थियो ।

कोलिन्सले सबै १२ वटै खाताका एक्सेस कोडहरु एउटा कागजमा प्रिन्ट गरेका थिए । उनले यो कागजलाई आफ्नो बल्छीसँगै बल्छीको बाकसभित्र लुकाएका थिए । तर, २०१७ मा उनी गाँजाको साथमा पक्राउ परेपछि उनलाई ५ वर्षको जेल सजाय भयो । उनी जेल पुगे भने उता उनी बस्ने घरका मालिकले घरका केही भाग भत्काएर मर्मत गरे । यस क्रममा घरमालिकले त्यहाँ भएका सामानसमेत हटाउन लगाउँदा उनले कोड लेखेको कागज पनि हरायो ।

उनका अधिकांश सामानहरु थोत्रो हालतमा रहेकोले फोहरको रुपमा फालिएका थिए । यरी सफाइ गर्न खटाइएका कामदारले बल्छीको बक्स कतै देखेको वा फालेको सम्झिन सकेका छैनन् । बल्छीको बक्स अहिलेसम्म भेटिएको छैन । अब उनको बिटक्वाइनका खाताहरु ती एक्सेस कोडबिना खोल्न सकिँदैन जसका कारण उनको बिटक्वाइन प्रयोग गर्न मिल्दैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.