तीन दिनको लगातार हिंसापश्चात् दिल्लीमा तनावपूर्ण वातावरण

डिसी नेपाल
१५ फागुन २०७६ ७:००

बीबीसी । लगातार तेस्रो रात पनि दङ्गा भड्किएपछि दिल्ली अहिले तनावपूर्ण अवस्थामा छ। सन् १९८४ मा सिख समुदायविरुद्ध भएका दङ्गापश्चात् यसपटक भारतको राजधानीले अर्को हिंसक दङ्गा बेहोरेको छ।

यसपालीको दङ्गा विवादास्पद नागरिकता कानुनका पक्षधर तथा विपक्षीबीच झडप हुन थालेपछि आइतवारबाट सुरु भएको थियो।

तर त्यसपश्चात् दङ्गाले साम्प्रदायिक हिंसाको स्वरूप ग्रहण गरेको छ। कैयौँ मुस्लिममाथि हमला भएका विवरण आएका छन्।

त्रासदीपूर्ण अवस्था

दङ्गासम्बन्धी सामाजिक सञ्जालमा उपलब्ध फोटो, भिडिओ तथा विवरणहरू केलाउँदा त्यसले गत केही दिनको त्रासदीपूर्ण अवस्था झल्काउँछ। अधिकांश हिन्दू जत्थाले पत्रकार सहित निशस्त्र पुरुषहरूलाई लाठी, फलामे रड तथा ढुङ्गाले प्रहार गरेको अनि गल्ली गल्ली डुलेको त्यसबाट देखिन्छ।

साथै, ठाउँठाउँमा हिन्दू र मुस्लिम समूहबीच झडप भएको देखिन्छ। मृतक तथा घाइतेको नामावली हेर्दा हिन्दू र मुस्लिम दुवै समुदायका भएको देखिएको छ। बुधवार ताजा झडपका विवरण आएका छैनन् तर शहर अशान्त देखिन्छ।

बीबीसी सम्वाददाताहरूले मुस्तफावाद इलाकाका मुस्लिम बासिन्दाले थप झडपको त्रासमा गुन्टा कसेर घर छाड्दै गरेको देखेका छन्। हिंसासम्बन्धी याचिकाको सुनुवाइ गरिरहेको दिल्ली उच्च अदालतले उसको उपस्थितिमा ‘अर्को सन् १९८४ हुन दिन नसकिने’ जनाएको छ।

सन् १९८४ मा भएका दङ्गामा ३ हजार सिख समुदायका सदस्य मारिएका थिए। बीबीसी हिन्दीका अनुसार उत्तरपूर्वी दिल्लीको खजूरी खास इलाकाको नालीमा एक शव भेटिएको छ जसलाई समाचार एजेन्सी एएनआइले भारतको घरेलु गुप्तचर निकाय आइबीका अंकित शर्माको भएको उल्लेख गरेको छ।

यसअघि बुधवार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रभावित इलाकाको निरीक्षण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले शान्तिको लागि आह्वान गरेका छन्। विपक्षी कांग्रेस पार्टीले केन्द्रीय गृहमन्त्री अमित शाहको राजीनामा मागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.