बूढासुब्बा गोल्डकपः मछिन्द्रलाई पराजित गर्दै पुलिस फाईनलमा

डिसी नेपाल
१५ फागुन २०७६ १८:२४

धरान । नेपाल पुलिस क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरी सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा मछिन्द्रका कप्तान विराज महर्जनको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाएका थिए । त्यसअघि पुलिसका कपिल ढकालले गोल गरेका थिए ।

टाइब्रेकरमा पुलिसका भोला सिलवाल, पदम भट्टराई, तिर्थ मगर र जुमानु राईले गोल गरे । सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । मछिन्द्रका रञ्‍जित धिमाल, विमल घर्ति मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल गर्दा विशाल राईको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाए ।

पुलिससँगको हारसँगै सिजनको तेस्रो उपाधि जित्ने मछिन्द्रको सपना तुहिएको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रले झापाको सताक्षी गोल्डकपको उपाधि जितेको थियो । अब पुलिसले फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । भारतको युके एफसीलाई २–० ले हराउँदै मनाङ उपाधि नजिक पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.