कोरोनाभाइरसः उच्च अधिकारीहरुसहित मंगोलियाका राष्ट्रपति नै १४ दिने क्वारेन्टाइनमा

डिसी नेपाल
१६ फागुन २०७६ १४:४५

काठमाडौं। कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच मंगोलियाका राष्ट्रपतिलाई नै क्वारेन्टाइनमा राखिएको छ । देशका उच्च सरकारी अधिकारीहरुसहित राष्ट्रपति बातुल्गा स्वयं १४ दिने क्वारेन्टाइनमा बसेका हुन् । एकदिने चीन भ्रमणबाट फर्किएपछि आफूहरुमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका गर्दै राष्ट्रपति बातुल्गा क्वारेन्टाइनमा बसेका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनमा कोरोनाभाइरस फैलिएपछि त्यहाँको भ्रमण गर्ने बातुल्गा पहिलो राष्ट्रप्रमुख हुन् । बातुल्गा आफ्ना विदेशमन्त्री सोग्बातार दामदिनसहित थुप्रै उच्च अधिकारीहरुका साथमा बिहीबार बेइजिङ गएका थिए । उनले राष्ट्रपति सी जिनपिङ र प्रिमियर लि केकियाङसँग छलफल गरेका थिए ।

स्वदेश फर्केपछि संक्रमणको आशंका तथा कोरोना फैलिनबाट रोक्नको लागि राष्ट्रपति बातुल्गासहित अन्य थुप्रै सरकारी अधिकारीहरु अहिले क्वारेनटाइनमा बसेको बताइएको छ । बिहीबार राति उनीहरु चीनबाट फर्केका थिए । भ्रमणको क्रममा बातुल्गाले चीनलाई ३० हजार भेडा प्रदान गर्ने घोषणा पनि गरेका थिए । मंगोलियामा हालसम्म कोरोना संक्रमित फेला परेका छैनन् । यद्यपि रोकथामको उपायलाई तीव्रता दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.