यस वर्षको प्रताप स्मृति पुरस्कार पत्रकार रामकुमार अधिकारीलाई

डिसी नेपाल
१७ फागुन २०७६ २०:३१
120
Shares

काठमाडौं। प्रताप स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट वरिष्ठ पत्रकार अन्तर्राष्ट्रिय मंच का सम्पादक रामकुमार अधिकारीलाई सम्मानित गरिएको छ।

नेपाल पत्रकार मञ्चले ललितपुरको महांकाल गाउँपालिका, गोटिखेलमा आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अधिकारीलाई नगद पन्ध्र हजार एक रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे। नेपाल पत्रकार मञ्चले विगत ८ वर्षदेखि हरेक वर्ष प्रताव स्मृति पुरस्कार प्रदान गर्दै आएको छ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष आचार्यले नेपालको पत्रकारिताले क्षेत्रले मुलुकको आर्थिक तथा सामाजिक विकास र राजनीतिक परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले कुनै पनि लोकतान्त्रिक मुलुकमा पत्रकारितालाई विभिन्न बाहानामा अंकुश लगाउन खोज्नु सैद्धान्तिक रुपमा समेत गलत भएको बताए।

उनले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली पत्रकारिता क्षेत्रले प्रत्यक्ष रुपमा साँक्षी मात्र भएको छैन, अग्र मोर्चामा बसेर आन्दोलनमा सहभागी पनि भएको छ । तर तीनै आन्दोलनमा सहभागी राजनीतिक दलहरु सरकारमा पुगेपछि भने नीतिगत, कानुनी रुपमा प्रेसलाई अंकुश लगाउन लागिपरेको देखिन्छ । यो कुनै पनि हालतमा स्वीकार्य हुनै सक्दैन।’
पत्रकारिता पेशा समाजको ऐना पनि भएकाले सामाजिक सरोकारका विभिन्न मुद्धाहरुलाई नेपाली पत्रकारिता जगतले इमान्दारितापूर्वक आम पाठकका बीच पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने आचार्यले बताए।

यस्तै नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टले नेपाली पत्रकारिता क्षेत्रले मुलुकको राजनीतिक परिवर्तनमा योगदान दिएता पनि अहिले विभिन्न चुनौतीलाई सामाना गर्न बाध्य भएको बताए। उनले भने, ‘राजनीतिक, सामाजिक र आर्थिक विकासमा समेत नेपाली पत्रकारिताले पहरेदारीको भूमिका निर्वाह गरिरहेको छ । तर प्रेसलाई अंकुश लगाउने काम हुनु भनेको लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको छ ।’

कार्यक्रममा महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले ललितपुरको दुर्गम गाउँपालिकामा ऐतिहासिक र धार्मिक रुपमा समेत महत्वपूर्ण रहेकाले यसको प्रबद्र्धन गर्न सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए। उनले राज्यको चौथो अंगले सही समाचार सम्प्रेषण गरेमात्र मुलुकको समृद्धिमा योगदान पुर्याउन सकिने बर्ताए।

नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र बृत्ति विकासका निम्ति मञ्चले स्थापना कालदेखि नै विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको बताए। उनले पत्रकारको क्षमता अभिबृद्धि गर्दै निरन्तर रुपमा क्रियाशील हुनको निम्ति थप सहयोग पुगोस् भनेर हरेक वर्ष क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिँदै आएको बताए।

सोही कार्यक्रममा पुरस्कृत व्यक्तित्व रामकुमार अधिकारीले आफूले प्राप्त गरेको पुरस्कार राशीलाई नेपाल पत्रकार मञ्चले पत्रकारहरुको राहतका निम्ति खडा गरिएको कोषमा हस्तान्तरण गर्ने घोषणा गरे।

कार्यक्रममा आगामी वर्षदेखि मञ्चका सदस्य बल्लभ भण्डारीले आफ्नो बाबुको स्मृतिमा पन्ध्र हजार १ सय ११ नगद राशीको होमनाथ भण्डारी स्मृति पत्रकारिता पुरस्कार तथा क्यानडामा रहेका नेपाल पत्रकार मञ्चका सदस्य श्रीकृष्ण फुँयालको तर्फबाट आफ्ना पिताको स्मृतिमा नगद २५ हजार नगदसहित बुद्धिनाथ फुँयाल स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरिएको थियो ।

सोही कार्यक्रममा फुँयालले हरेक बर्ष नेपाल पत्रकार मञ्चका सदस्यका परिवारका विद्यार्थीहरुलाई २५ हजार नगद बराबरको शैक्षिक सहायता प्रदान गर्ने घोषणा समेत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.