‘म यस्तो गीत गाउँछु २’का कारण फागुन ३० बाट सर्यो ‘नीरफूल’

डिसी नेपाल
१९ फागुन २०७६ १३:४७

काठमाडौं। सञ्चारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति फेरि सरेको छ। पटकपटक सर्दै फागुनको ३० मा प्रदर्शन हुने तय भएको चलचित्र फेरि चैत्त ७ मा सारिएको हो।

यसअघि फागुन २३ मा रिलिज डेट तोकिएको ‘म यस्तो गीत गाउँछु २’, हिन्दी चलचित्र ‘बाघी ३’ आउने भएपछि फागुन ३० मा सारिएको थियो। त्यतिबेलै धेरैले ‘नीरफूल’ एक साता सर्ने अनुमान गरेका थिए। ‘नेपाली चलचित्र उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो’, निर्देशक वलले भने, ‘हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ।’ चलचित्र ‘नीरफूल’को ट्रेलर मंगलवार सार्वजनिक हुँदैछ।

‘नीरफूल’ भुकम्पमा परि बिछोडिएको परिवारले पुनर्मिलनको लागि गर्ने संघर्षमा आधारित छ। चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ।

चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रुपमा पनि छन्। फ्रेण्ड्स अफ नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

चलचित्रको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए। निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका छन्। चलचित्रका गीतमा राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन्।  गोविन्द शाही र मनोज राठी यस चलचित्रको वितरक रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.