दिल्ली हिंसाः ती गल्लीका कथा जहाँ घृणाको आगोले हिन्दू–मुस्लिम भाइचारालाई छुन पनि सकेन

डिसी नेपाल
२० फागुन २०७६ १२:३५
8
Shares

नयाँ दिल्ली। उत्तर पूर्वी दिल्लीका कैयौं क्षेत्र जतिबेला दंगाको आगोमा जलिरहेका थिए त्यही बेला केही टोल यस्ता पनि थिए जसले मानवता र आपसी भाइचारालाई यो आगोबाट जोगाइराखे । यस्तै एउटा टोल चन्दु नगरमा छ जहाँ नागरिकहरुले आफ्नो छिमेकमा कायम दशकौं पुरानो सम्बन्धमाथि हिंसा हावी हुन दिएनन् । यहाँ करिब ४० मुस्लिम परिवारको बीचमा केवल ३ हिन्दू परिवार बस्छन् ।

राजवीर सिंहको परिवार यिनैमध्ये एक हो जो १९८१ देखि यहाँ बसिरहेका छन् । मूल रुपले बुलंदशहरका राजवीर भन्छन् ‘यो टोलमा हामी केवल ३ हिन्दू परिवार छौं तर हामीलाई कहिल्यै यहाँ असुरक्षा महसुस भएन । ९० को दशकमा पनि जब दंगा भड्किएका थिए त्यतिबेला पनि हाम्रा छिमेकीले हामीमाथि आँच आउन दिएका थिएनन् । यसपटक पनि यस्तै भयो । जब दंगा भड्कियो, छिमेकका जमालुद्दीन र मुर्शिद भाइ हाम्रो घर आउनुभयो । उहाँले हामीलाई विश्वास दिलाउनुभयो कि राजवीर भाइ डराउनु पर्दैन । यहाँ तपाइँलाई कसैले केही गर्न सक्दैन ।’
चन्दू नगरको यो त्यही इलाका हो जहाँ खजुरी खासबाट पलायन भएर आएका कैयौं मुस्लिम परिवार पनि शरण लिएर बसिरहेका छन् । यी तमाम परिवारका घर जब दंगाइहरुले जलाइदिए, यिनीहरु कुनै तरिकाले ज्यान बचाएर यहाँ पुगेका थिए । यीमध्ये केही परिवार यहाँ आफ्ना आफन्तका घरमा बसिरहेका छन्, केही मस्जिदमा शरण लिएर बसेका छन् ।

राजवीर सिंह भन्छन् ‘जब दंगा सुरु भयो मलाई पनि यहाँ डर लागेन । मलाई आफ्ना छिमेकीहरुमाथि भरोसा छ । जब आसपासका कैयौं मुस्लिम परिवार यहाँ शरण लिन आए त्यसपछि भने केही डर महसुस भयो । यी ती मानिसहरु थिए जसको घर हिन्दूहरुले जलाएका थिए । उनीहरुमा स्वभाविक रुपमा धेरै आक्रोश थियो होला । त्यतिबेला विचार आयो कि शायद म यहाँबाट परिवार लिएर निस्किनुपर्छ । मैले छिमेकी इसफाक भाइसँग यस बारेमा कुरा गरें तर उहाँले मलाई जान दिनुभएन । उहाँ अन्य मानसहरुलाई लिएर हाम्रो घरमा आउनुभयो र भन्नुभयो – यदि दंगाइहरु बाहिरबाट यो टोलमा घुसे भने तपाइँभन्दा पहिले हाम्रो ज्यान जानेछ ।’

राजवीर सिंहका छिमेकी मोहम्मद इसफाक भन्छन् ‘हामी विगत ४० वर्षदेखि साथमा छौं । हामी बीचमा हिन्दू मुस्लिमको कुनै फरक छैन । हाम्रो घरमा बनेको ईदको सेवइ राजवीर भाइको घर जान्छ र उनको होलीको गुजिया हाम्रो घर आउँछ । कहिल्यै अचानक बिरामी परे वा कुनै समस्या परे सबैभन्दा पहिले राजवीर भाइ नै हाम्रो र हामी नै उहाँको काम आउँछौं । दशकौं पुरानो सम्बन्धलाई हामी यसरी घृणाको आगोमा कसरी होम्न सक्छौं ?’

चारैतिर फैलिएको घृणाको बीचमा चन्दु नगरको यो गल्लीमा आपसी भाइचारा देखिनुले आशा जगाउँछ । ठिक यस्तै आशा वृजपुरीको डी ब्लकको गल्ली नम्बर ८ मा पनि देखिन्छ । वृजपुरी त्यही इलाका हो जहाँ दंगाइहरुले हिन्दू समुदायका मानिसहरुलाई निशाना बनाएका छन् र उनीहरुका घर, दुकानको साथमा यहाँ कैयौं स्कुल पनि जलाइदिए । यो माहोलको बीच पनि गल्ली नम्बर ८मा बस्ने परिवारहरुको आपसी भाइचारा यति बलियो बनिरह्यो कि घृणाको चौतर्फी आगोले उनीहरुलाई छुन पनि सकेन ।

वृजपुरीको यो गल्लीमा करिब ४५ हिन्दू परिवारको बीच केवल २ मुस्लिम परिवार बस्छन् । यी दुवै परिवारको सुरक्षा यहाँका स्थानीयले यति मजबुतीसँग गरे कि रातभर उनीहरु विशेष रुपमा यी घरबाहिर तैनाथ रहे । यहाँ बस्ने मोहम्मद कपिल भन्छन् ‘अब्बुले १९८३ मा यहाँ घर किन्नुभएको थियो । म त यहीँ जन्मिएको हुँ । मेरा सबै साथी हिन्दू छन् र टोलका सबैसँग परिवार जस्तै सम्बन्ध छ । जब यहाँ दंगा भड्कियो, हामीलाई सोचाइ पनि आएन कि हामी यहाँबाट कहीँ जानुपर्छ किनकि हामीलाई हाम्रा छिमेकीमाथि यति विश्वास छ । यी दंगामा जब आसपासका मानिसहरु हिन्दू–मुस्लिमको नाममा लडिरहेका थिए त्यतिबेला हाम्रो टोलमा हिन्दू मुस्लिम साथमा मिलेर दंगाइविरुद्ध उभिएका थियौं ।’

यही गल्लीमा अर्को घर ७० वर्षका यामिनको छ । उनी भन्छन् ‘गल्लीबाहिर तपाइँले देख्नुभयो होला कति घर र दुकान दंगाइहरुले जलाएर खरानी बनाइदिएका छन् । हजारौंको संख्यामा दंगाइहरु यहाँ आएका थिए र उनीहरुले निशाना बनाएर बाहिर हिन्दूहरुका दुकान जलाए । सोच्नुस्, यस्तोमा हिन्दू भाइहरुको मनमा कति आक्रोश थियो होला ? तर यति हुँदा पनि उहाँहरुले हाम्रो घरको आफ्नो घरभन्दा बढेर सुरक्षा गर्नुभयो । हाम्रो जीवनभरको कमाइ यही हो कि हामीले यो भाइचारा र आपसी प्रेम पायौं ।’

यी दंगाले जहाँ कैयौं मानिसहरुको मनमा एक अर्काप्रति घृणाको एउटा पर्खाल उभ्याइदिएको छ, त्यहीँ चन्दु नगर र वृजपुरीका यी गल्लीहरुमा मानिसहरुको आपसी सम्बन्ध अब शायद पहिलेभन्दा पनि मजबुत भएका छन् । यो त्यो विश्वासका कारण भयो जो यिनीहरुले एक अर्काप्रति कायम राखिराखे । भनिन्छ, मानिसको वास्तविक पहिचान कठिन समयमा हुन्छ । चन्दू नगर र वृजपुरीका यी मानिसहरुले आफ्नो यो सुन्दर पहिचान यो मुस्किल समयमा प्रमाणित गरेर देखाएका छन् ।

दैनिक भास्करबाट अनुवादित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.