नआत्तिनुहोस् ग्यासको अभाव हुँदैन : आपूर्ति मन्त्री

डिसी नेपाल
२३ फागुन २०७६ १८:३१

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा एक महिनासम्म ग्यासको अभाव नहुने बताएका छन्।

बजारमा दैनिक उपभोग्यवस्तु र ग्यासको अभाव हुने हल्लाहरु फैलिएको बेला मन्त्री भट्टले एक महिनासम्म ग्यासको अभाव नहुने बताएका हुन्।

मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी मन्त्री भट्टले ६ महिनासम्म पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र एक महिनालाई पुग्ने ग्यास अहिले पनि स्टक रहेको बताए।

शुक्रबार बिहानमात्रै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, नेपाल आयाल निगम लगायतका संस्थाहरुसँग रिपोर्ट मागिएको र व्यवसायीहरुले दिएको रिपोर्टले पनि कुनै कुराको अभाव नहुने देखाएको उनले बताए।

मन्त्री भट्टले बजारमा लसुनको मूल्य बढेकाले केही अभाव रहेको र अरु कुनै पनि वस्तुमा अहिलेसम्म मूल्य वृद्धि नभएको बताए।

भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाए पनि नेपालले अत्यावश्यक औषधिहरुको आपूर्तिका लागि कुटनीतिक माध्यमबाट कुराकानी गरिरहेको उनले बताए।

बजार अनुगमनलाई तिब्रता दिएको मन्त्री भट्टले बताए। जनशक्ति अभावका कारण बजार अनुगमनमा केही समस्या देखिए पनि सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने तयारी गरिएको उनले बताए।

आयात निर्वाध रुपमा भए पनि केही व्यक्तिहरु आतंकित भएर १ सिलिण्डर चाहिने ठाउँमा १० वटा जम्मा गरेर राखेको उल्लेख गर्दै उनले नआत्तिन सबैमा आग्रह गरे।

सर्वसाधारणले ग्यास नपाउने अवस्था आएमा सिधै मन्त्रालयमा फोन गर्न पनि उनले आग्रह गरेका छन्। मन्त्रालयले छिट्टै निःशूल्क हटलाइनको व्यवस्था गर्ने जानकारी दिँदै मन्त्री भट्टले ग्यास नपाउने अवस्थामा फोन गर्न आग्रह गरे। गुनासो आएको क्षेत्रमा हस्तक्षेप गरेर भए पनि ग्यासको आपूर्ति गर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.