सडक दुर्घटनामा परी एकको मृत्यु, ११ जना घाइते

डिसी नेपाल
२६ फागुन २०७६ ९:५३

चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन्।

सोही कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १५९२ नंको बस आज बिहान ठक्कर खाएको थियो।

ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।

घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.