फ्रान्सेली विद्यालयहरू अर्को दुई हप्ता बन्द

डिसी नेपाल
३० फागुन २०७६ १६:१७

पेरिस । कोरोनाभाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठानहरू “कम्तिमा” आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नु परेको बताइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा गरेका थिए । उनको घोषणामा सोमबारदेखि अर्को सूचना नभएसम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने उल्लेख थियो ।

“विद्यालयहरु सकेसम्म छोटो समयको लागि बन्द हुनेछन्,” स्वास्थ्य मन्त्री ओलिभियर भेरानले युरोप १ रेडियोलाई बताए । “हामी देशभरि नै लागू हुनेगरी नयाँ कदम चाल्दैछौं । विद्यालयहरू आवश्यकता अनुसार बन्द रहने छन् । यो कम्तिमा १५ दिनका लागि हुनेछ ।”

उनले भाइरस सङ्क्रमण रोक्नका लागि यो पनि एक सफल विधिका रुपमा देखिएको छ भने । शिक्षामन्त्री जीन–मिशेल ब्लान्क्वेरले जुन महिनाअघि नै महामारीको अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले बिहीबार ढिलो जारी गरेको तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट फ्रान्समा ६१ जनाको मृत्यु भएको र २ हजार ८७८ जना सङ्क्रमित भएका छन् ।

म्याँक्रोले ७० वर्षभन्दा माथिका मानिसहरूलाई घरमै बस्न आग्रह गर्नु भएको छ । उहाँले यस सङ्कटको अवस्थामा पनि मुलुकको अर्थव्यवस्थालाई जोगाउने उपायहरू घोषणा गरेका छन् । सरकारले यस अवधिमा आंशिक रूपमा कार्यरत व्यक्तिहरुलाई पनि क्षतिपूर्ति दिइने बताएको छ ।

“हामी आवश्यक पर्ने सबैथोक गर्नेछौं र जरुरी देखिए अझ बढी काम गर्नेछौं,” अर्थव्यवस्था तथा वित्तमन्त्री ब्रुनो ली मायरले बताए । “यस्तो सहयोग गर्नुपर्दा स्वभावतः राज्यलाई “अर्बौं युरो” लाग्नेछ ।”

बीएफएम टिभीसँग कुरा गर्दै ला मायरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरुबाट आएका मानिसहरुलाई संयुक्तराज्य अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयले “आर्थिक अराजकता” खडा हुने खतरा रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.