२ हप्ताका लागि कतार प्रवेश गर्ने उडानमा प्रतिबन्ध, निजी क्षेत्रलाई राहत प्याकेज घोषणा
काठमाडौं। कतारले २ हप्तासम्म लागू हुने गरी विभिन्न ठूला निर्णयहरु गरेको छ । निर्णयहरुमा प्रतिबन्धदेखि राहत प्याकेजसम्म समेटिएका छन् । कतारले २ हप्तासम्म देशमा भित्रिने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरस फैलिने सम्भावित खतराको पूर्वतयारीस्वरुप यस्तो निर्णय गरिएको कतार सरकारले जनाएको छ । यी निर्णयहरु आइतबार कतारका इमिर शेख तमिम बिन हमाद अल थानी र प्रकोप व्यवस्थापनका लागि सर्वोच्च समितिबीचको बैठकपछि घोषणा गरिएको अल जजीराले उल्लेख गरेको छ ।
महामारीले निजी क्षेत्रलाई पार्ने नोक्सानीमा सहयोग गर्नको लागि सरकारले ७५ अर्ब कतारी रियल बराबरको राहत प्याकेजसमेत घोषणा गरेको छ । समितिले जारी गरेको वक्तव्यमा भनिएको छ ‘कतार आउने विमानलाई प्रतिबन्ध लगाउने निर्णय बुधबार मार्च १८ देखि लागू हुनेछ र यो १४ दिनसम्म लागू हुनेछ । आवश्यक देखिएमा यो अवधि बढाउन सकिनेछ ।’ कार्गो र ट्रान्जिट उडानलाई भने प्रतिबन्ध लगाइएको छैन ।
स्वदेश फर्किने कतारी नागरिकलाई भने १४ दिनको क्वारेन्टाइनमा बसेपछि देशमा प्रवेश दिइने वक्तव्यमा जनाइएको छ । यो सानो खाडी देशमा पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले ६४ नयाँ संक्रमित भएको पुष्टि गरेसँगै यो निर्णय आएको हो । हालसम्म यहाँ कूल संक्रमितको संख्या ४०१ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म यहाँ ७ हजार ९५० जनाको परीक्षण गरिएको छ र संक्रमित पाइएका मध्ये ४ जना निको भइसकेका छन् ।
सार्वजनिक यातायात बस र हालै संचालनमा ल्याइएको मेट्रो सिस्टम आइतबार बेलुकीदेखि नै बन्द गरिएको छ । मानिस–मानिसबीच प्रत्यक्ष सम्पर्कबाट भाइरस फैलिने खतरा कम गर्न सरकारले ५५ वर्षमाथिका, गर्भवती र दीर्घरोगी सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न अनुमति दिएको छ ।
सरकारले यसअघि नै स्कुल बन्द गरेर दूर शिक्षामार्फ पढाइ संचालन गर्ने निर्णय गरिसकेको छ । उद्योग तथा बाणिज्य मन्त्रालयले समेत ट्वीट गर्दै अर्को सूचना जारी नभएसम्मका लागि रेष्टुरेण्ट र क्याफेमा खाना खान प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । खाना घरमै डेलिभरीका लागि अर्डर गर्न भने पाइन्छ ।







डिसी नेपाल








Facebook Comment