आमाछोरी संँगसंँगै कक्षा ८ पालिका स्तरीय परीक्षामा

डिसी नेपाल
३ चैत २०७६ २१:२७

तनहुँ । देवघाट गाउँपालिका– ५ निवासी ३३ वर्षीया दुर्गा पौडेलले आफ्नी १३ वर्षीया छोरी दीपासँगै पालिकास्तरीय परीक्षामा सहभागी भएर परीक्षा दिएकी छन् । उनले आफ्नी छोरीसँगै कालिका माध्यमिक विद्यालयबाट कक्षा ८ को परीक्षा दिएकी हुन् ।

“मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलता साथ पूरा गर्न सकिन्छ”, शुक्रबारदेखि शुरु भएको परीक्षा दिँदै उनले भनिन्, “नयाँ पुस्तासँग आमाले सँगै परीक्षा दिँदा थप उत्साह मिलेको छ ।”

विसं २०५९ मा ७ कक्षा पास गरेकी उनलाई विवाह गरेको १६ वर्षपछिको समयमा बल्ल पढ्ने अवसर मिलेको छ । पहिलेदेखि नै पढ्न इच्छा भए पनि घरायसी व्यवहारले गर्दा उनले पढ्न पाएकी थिइनन्। उनले भनिन्, “पढ्नका लागि उमेरले फरक पर्दैन, पढ्नुपर्छ भनेर शुरु गरेको हुँ ।”
गरीबी र अर्थाभावका कारण यहाँ पढ्ने अधिकांशको सानै उमेरमा बिहे हुने गरेको बताइएको छ । विद्यालयका सहायक प्रधानाध्यापक लालमणि पौडेलले महिलाका आआफ्नै किसिमका दुःख भए पनि दुर्गाको पढाइतर्फको लगनशीलता, रूचि र चासो देख्दा आफू अचम्मित भएको बताए। देवघाट ५ स्थित विद्यालयमा तीन सामुदायिक विद्यालयको गाउँपालिकास्तरीय ८ कक्षाको परीक्षा केन्द्र छ ।

देवघाट–५ का तीन सामुदायिक विद्यालय बज्रयोगिनी माविबाट ३०, कालिका माविबाट २७ र सिद्धमहाकाली माविबाट २० गरी ७७ विद्यार्थी परीक्षामा सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.